धरान, १ मंसिर । शुक्रबार बिहानै बाम गठबन्धनका उम्मेदवारहरु धरानको सेउती खोला पारी खैरेनीटार पुगे । विगतमा पाँचकन्या गाविसअन्र्तगतको यो ठाउँ अहिले धरान उपमहानगरको वडा नं ४ मा पर्छ ।
बाम गठबन्धनका नेताहरुसँगै सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवार जयकुमार राई, प्रदेशसभा(ख)का उम्मेदवार प्रदिप भण्डारी, समानुपातिकतर्फ माओवादी केन्द्रकी उम्मेदवार चेतना श्रेङ र एमालेकी सावित्री श्रेष्ठ पनि खैरेनीटार पुगिन् । त्यहाँको कोणसभा सकेर बामगठबन्धनको टोली पत्राङबारी पुग्यो । जहाँ उम्मेदवारहरुले घरदैलो गरेर मतदाताहरुलाई घरमा, खेतबारीमा भेट्दै बामगठबन्धनलाई जिताउन आग्रह गर्दै पुगे । घरखेतमा नै उम्मेदवारहरु भेट्न आइपुग्दा मतदाताहरु पनि खुशी देखिए ।
मंसिर २१ गतेको निर्वाचनमा दुई तिहाई बुहमत ल्याउने घोषणा गरेको बाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ का उम्मेदवारहरु शुक्रबार धरान उपमहानगरपालिका भएर पनि दुर्गम मानिने वडा नं ४ को गाउँवस्तीमा मतदाताहरुलाई भेट्न पुगेका थिए । पत्राङबारीमा घरदैलो गरेपछि उम्मेदवारहरु दानाबारी हुदै हर्दिया पुगे । त्यहाँ पनि उम्मेदवारहरुले पैदल हिडेर मतदाताहरुलाई घर र खेटमा भेटेर सुखदुःखका कुराहरु गर्दै बाम गठबन्धनलाई जिताउन आग्रह गरे । मतदाताहरुले पनि बाटोको असुविधा, खानेपानीको चर्को समस्या रहेको उम्मेदवारहरुलाई गुनासो पोख्दै आश्वासनमात्र नबाड्न सुझाव दिए । उम्मेदवारहरुले पनि अब प्रदेश र केन्द्रमा स्थायी सरकार बन्ने भएकोले सडक, खानेपानीजस्त समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएका थिए ।
हर्दियामा घरदैलो कार्यक्रम सकेपछि उम्मेदवारहरु दानाबारी फर्किए । जहाँ बाम गठबन्धनले वडा नं ४ को टोलस्तरीय खुला भलिवल प्रतियोगिताको संयोजन गरेको थियो । रुद्राक्ष आमा समुह दानबारी र खैरेनीटार बस्ती व्यवस्थापन समितिले आयोजना गरेको प्रतियोगिताको उद्घाटन समारोहलाई उम्मेदवारहरुले सम्बोधन गरेका थिए ।
प्रदेश र केन्द्रमा बहुमतको सरकार
सुनसरी क्षेत्र नं १ मा बामगठबन्धनबाट प्रतिनिधि सभामा संयुक्त उम्मेदवार रहेका जयकुमार राईले खैरेनीटारको कोणसभालाई सम्बोधन गर्दै मंसिर २१ गतेको निर्वाचनपछि प्रदेश र केन्द्रमा बाम गठबन्धनको बहुमतको स्थायी सरकार बनाएर जनताले चाहेको जस्तो भौतिक, आर्थिक विकास र समृद्धिको सपना साकार गर्ने उनले बताए । अहिलेसम्म बामपन्थीहरु बहुमतमा भएर पनि एकापसमा नमिल्दा बहुमतको सरकार बनाउन नसकेको भन्दै उनले अब एमाले र माओवादी केन्द्र मिलेर बहुमत ल्याउने र ५ बर्षसम्म प्रदेश, केन्द्रमा स्थायी सरकार बनाएर देशमा विकासको लहर ल्याउने बताए ।
विगतमा बामपन्थीहरु एक हुदा २०४६ सालमा निरंकुश पञ्चायती व्यावस्था र २०६२÷०६३ पछि सामन्ती राजतन्त्रसमेत ढालेको उल्लेख गर्दै राईले अब बहुमतको स्थिर सरकार बनाएर देशमा व्यप्त गरिबि, अशिक्षा, असमानतालाई पनि ढाल्ने बताए । कन्यापोखरी जाने बाटोको ट्रयाक र स्तरोन्नतीमा निरन्तर बजेट हालेको बताउदै उनले यो बाटो, पुल र खानेपानी समस्या आफुहरुको प्राथमिकतामा परेको पनि खुलाए । ‘हामी वाचा मात्र गर्दैनौं काम गरेर पनि देखाउछौ । एमाले र माओवादी केन्द्र मिलेपछि देशैभर जित सुनिश्चित छ, हामी बहुमतको सरकार बनाएर काम गरेरै देखाउछौं,’उम्मेदवार राईले भने ।
मओवादी केन्द्रकी समानुपातिक उम्मेदवार चेतना श्रेङले बाम गठबन्धनले जनविरोधी, विकास विरोधीहरुलाई धक्का पुगेको बताउदै बाम गठबन्धनलाई फुटाउने षडयन्त्र भइरहेकोले त्यस्तो भ्रमको पछि नलाग्न मतदाताहरुलाई आग्रह गरिन् । चुनाव पछि बामपन्थीहरुको बहुमत सरकार बन्ने र जनताले चाहेको विकास हुने पनि उनले बताइन् ।
युवाहरुलाई सचेत हुन आग्रह
बाम गठबन्धनबाट प्रदेशसभा(क) का उम्मेदवार प्रदिप भण्डारीले देश र जनताको विकास गर्ने पार्टी र उम्मेदवारको सही छनौट गरेर विजयी दिलाउन युवाहरुलाई आग्रह गरको छन् ।
धरान ४, दानावारीमा टोलस्तरीय खुला भलिवल प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले सहि विचार, सिद्धान्त र योजना बोकेको पार्टीलाई चुन्न युवाहरुलाई आग्रह गरेका हुन् । युवा शक्ति देशको मेरुदण्ड भएकोले कसैको प्रलोभन वा भुलभुलैयामा नलाग्न पनि उम्मेदवार भण्डारीको आह्वान थियो । वडा नं ४ भौगोलिक विकटता भएको बारेमा आफुहरु जानकार भएको भन्दै उम्मेदवार भण्डारीले वडाबासीहरुलाई धरान उपमहानगरबासी भएको अनुभूति दिलाउन आफुहरु कुनै कसुर बाकी नराख्ने बताए ।
‘यहाँको बाटोको ट्रयाक हाम्रै पहलमा शुरु भएको थियो, अहिले पनि बर्षेनी बजेट छुटिरहेको छ, यसलाई कन्यापोखरीदेखि धरानसम्म जोड्न हाम्रो अथक पहल र प्रयास हुन्छ,’भण्डारीले भने,‘यो बाटोको समस्या, तपाईहरुको खानेपानी समस्याप्रति हाम्रो ध्यानाकृष्ट भएको छ, तत्काल सम्भव हुने भए तत्काल र नभए दीर्घकालीन योजना बनाएर पुरा गछौं ।’ सोही कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रकी उम्मेदवार चेतना श्रेङले युवा शक्ति विदेश पलायन भइरहेको भन्दै स्वदेशमा नै रोजगारी दिलाउन बाम गठबन्धनको स्थायी सरकार बन्नुपर्ने बताइन् ।
वडा १९ मा संयुक्त कार्यालय
मंसिर २१ ग्तेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनलाई बहुमतका साथ विजयी गराउने लक्ष्य लिएर वडा नं १९ मा संयुक्त निर्वाचन परिचालन कार्यालय स्थापना भएको ।
शुक्रबार बाम गठबन्धनका उम्मेदवार तथा नेताहरुले संयुक्तरुपमा कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा प्रतिनिधि सभा उम्मेदवार जयकुमार राई, प्रदेशसभा(क)का उम्मेदवार प्रदिप भण्डारी, माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार उमिता बराइलीले सम्बोधन गरेका थिए ।

















प्रतिक्रिया