
गाईघाट (उदयपुर), १ मंसिर । उदयपुरको रौतामाई गाउँपालिकाको केन्द्रलाई स्थायीत्व दिई सरकारी कामकाजलाई सहज बनाउन स्थानीयले संरचना निर्माणका लागि ५२ लाख मुल्य बराबरको करिव ११ रोपनी जग्गादान गरेकाछन् । संघीय संरचना घोषणासँगै गाउँपालिकाको भौतिक संरचना निर्माणका लागि रौतामाई गाउँपालिका वडा नम्बर २ भुट्टारका १५ घरपरिवारका सदस्यले प्रति रोपनी ५ लाख मुल्य पर्ने १० रोपनी ९ आना जग्गादान गरेका हुन् ।
शुक्रबार दिउँसो सदरमुकाम गाईघाटमा रहेको मालपोत कार्यलयमा रौतामाई गाउँपालिकालाई एकमुष्ट दानपत्रपास गर्दै जग्गादान गरेको मालपोत कार्यालय उदयपुरले जानकारी दिएको छ । ‘कार्यालय भवन बनाउनको लागि सोही स्थानमा एकमुष्ट जग्गादान पत्र पास गरेका छन्,’ मालपोत कार्यालय प्रमुख नवराज खड्काले भने, ‘अधिकाँस बृद्धाबृद्धले जग्गादान गरेका छन् ।’
जिल्लाको विकट क्षेत्र मानिने यो गाउँपालिकालाई भौतिक संरचना निर्माणका लागि जग्गा प्राप्ति गर्नेमा पहिलो गाउँपालिका हो । ४ गाउँपालिका र ४ नगरपालिका गरी ८ स्थानीय तह रहेको उदयपुर जिल्लाका अधिकांस स्थानीय तह जग्गा अभावकै कारण संरचना निर्माण हुन सकेका छैनन् ।
जग्गा दान गर्ने ७६ वर्षे बृद्धा सनकुमारीसँगै अन्य १४ जना रहेका छन् । रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार हेम रास्कोटीले ११ आना, विष्णुकुमारी मल्लले ८ आना, पबित्रा शाहीले ४ आना, सनकुमारी मल्ले १ रोपनी, पुष्पबहादुर शाहीले ७ आना, बन्नताकुमारी रास्कोटीले १ रोपनी, प्रेमकुमारीले १ रोपनी, मेघबहादुरले १ रोपनी, तेजबहादुर शाहीले १ रोपनी २ आना, मिथुला मल्लले १ रोपनी, हरिकुमारले ६ आना, खड्गकुमारी र गायत्रा दाहालले ६ आना र प्रकाशले ७ आना जग्गादान गरेका छन् ।
जग्गादाता ७६ वर्षीया सनकुमारी मल्लले बाबुबाजेले आर्जनको जग्गामा छोरानातीका लागि राम्रा सरकारी संरचना बनोस् र आफ्नो ठाउँको विकास होस् भन्नाको खातिर जग्गादान गरिएको बताईन् । ‘जनतालाई सेवामा सहज होस भन्नका लागि उब्जानी हुँदै गरेको जग्गा काटेर गाउँपालिकालाई दिएकाछौ,’ उनले भनिन्, ‘हामीले जे उदेश्यले जग्गादान गरेकाछौ त्यो पुरार होस ।’
अर्का जग्गादाता हेमबहादुर रास्कोटीले सरकारी भौतिक संरचना निर्माणका लागि जग्गादान गरिएको बताए । अध्यक्ष खड्काले जनताले दिएको जग्गामागापाको कार्यालय भवन बनाउने काम अघि बढाउने बताए । ‘धेरै बृद्धा बृद्ध बुवाआमाको नाममा भएको जग्गादान गर्नु भएको छ,’ अध्यक्ष खड्काले भने, ‘उहाँहरुकै आँखा अगाडी गाँउपालिकाको सरकारी संरचना बनाएर देखाउने छु ।’
खड्काले हाल दानबाट प्राप्त भएको जग्गा र थप दान आउनसक्ने जग्गाको आकलन गरी अपुग भए खरिद गरेर गाउँपालिकाको लागि विभिन्न भौतिक संरचना निर्माण गरिने बताए । संघीय संरचनाअनुसार सदरमुकाममा केन्द्रित अधिकारहरु गाउँतहमै पुग्नेछन् ।
गाउँपालिकामा मालपोत, नापी, शिक्षा, स्वास्थ्य, कृषि, घरेलु, प्रहरी, महिला तथा बालबालिका लगायतका कार्यालयहरु स्थापना हुने भएकाले सबैको संरचना निर्माणका लागि करिव ६० रोपनी जग्गा आवश्यक पर्ने खड्काले बताए ।












प्रतिक्रिया