लमजुङ, १ मंसिर । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा लमजुङमा एमाले प्रवेशको लहर बढेको छ ।
शुक्रबार मात्रै स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फका उम्मेदवार भुमिकर दुरा, सुकमाया मजाकोटी, वीर बहादुर दुरा र मीन बहादुर दुरासहित दर्जनौं नेता कार्यकर्ता सुन्दरबजार नगरपालिका ११ तुर्लुङमा पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् ।
यता सुन्दर बजारमा आयोजित समारोहमा कांग्रेसका मिनराज बतास र हरिकुमार श्रेष्ठसहित व्यवसायीहरु पनि पार्टी परित्याग गरी एमाले प्रवेश गरे ।
नवप्रवेशीलाई नेकपा एमालेका केन्द्रीय सचिव एवं लमजुङ प्रदेश सभा २ का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ स्वागत गरे । वाम गठबन्धनका तर्फबाट प्रदेश नम्बर ४ को भावी मुख्यमन्त्रीका रुपमा हेरिएका गुरुङले देश र जनतालाई समृद्धि बनाउन चुनावपछि ७ वटै प्रदेश र केन्द्रमा वाम गठबन्धनको सरकार बन्ने बताए ।
‘मुलकको स्वाधिनता रक्षा गर्न नसक्ने, पटक पटक सरकारमा गएर विकास नगर्ने, शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसक्ने लोकतान्त्रिक गठबन्धनलाई होइन् विकास र समृद्धिको सपना देखेको, देशको राष्ट्रियता, स्वानिधता रक्षा गर्न बाम गठबन्धनलाई बहुमत दिनुस्,’ उनले भने ।
कार्यक्रममा पूर्व सांसद डा भीष्म अधिकारी, समानुपातिक सांसद उम्मेदवार यशोदा रिमाल, माओवादी केन्द्रका नेता मनहरि पौडेल, एमाले लमजुङका सचिव कृष्ण अधिकारी, उपसचिव सुवास पौडेल लगायतले वाम गठबन्धनलाई जिताउन आह्वान गरे ।
प्रदेश नम्बर ४ का भावी मुख्यमन्त्रीका दाबेदार एवं एमाले सचिव गुरुङको पछिल्लो समय जिल्लामा प्रभाव बढ्दै गएको छ । गुरुङका योजनाले मतदाता आकर्षित भएका छन् ।














प्रतिक्रिया