१२ मंसिर २०८३, शनिबार

महेन्द्र र वीपीका पालामा बनेका उद्योग र कलकारखाना कांग्रेसले समाप्त पार्योः माधव नेपाल

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउन वाम गठबन्धनको विजयी अपरिहार्य भएको बताउनु भएको छ ।

मुलुकका वरिष्ठ सिने कलाकारहरुसँग शुक्रबार काठमाडौमा भएको अन्तरक्रियामा नेता नेपालले नेपाली कांग्रेस यथास्थितिवादी, प्रतिगमनको मतियार र भ्रष्टाचारले वद्नाम पार्टी भएको आरोप लगाउनुभयो । महेन्द्र र वीपीका पालामा बनेका उद्योग र कलकारखाना समेत कांग्रेसले समाप्त पारेको आरोप समेत लगाउनुभयो । ‘राजनीतिक क्रान्तिको कार्यभार पूरा भएको छ,’ उहाँले भन्नुभयो, ‘अब विकास र आर्थिक समृद्धि हाम्रो कार्यभार हो ।’

उहाँले केही वाम विरोधीले अधिनायकवादको हल्ला फिजाए पनि अब देश विकास गर्ने कम्युनिस्टहरु नै भएको पनि दाबी गर्नुभयो । ‘कांग्रेसले तीन पटक बहुमत ल्यायो तर, विकास निर्माणका सन्दर्भमा शून्य भयो,’ उहाँले भन्नुभयो, ‘पटक–पटक असफल भएको कांग्रेसले देश विकास गर्न सक्दैन । अब समृद्धिको सपना पूरा गर्न वाम गठबन्धलाई पूरा पाँच वर्ष सरकार चलाउनु दिनुपर्छ ।’

उहाँले कम्युनिस्टहरुले पहिलोचोटी बहुमत ल्याउने अवसर पाएको भन्दै अब बन्ने सरकारले आत्मनिर्भरमा जोड दिने बताउनुभयो ।

सडक, रेलमार्ग, हवाईमार्ग, जडिबुटीलगायतमा आत्मनिर्भर भई पाँच वर्षमा नेपालको मुहार फेर्न सक्ने उहाँको भनाई थियो । ‘सरकारले देशलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि वाम गठबन्धनले जित्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘अहिले सर्वसाधारणमा वामगठबन्धनप्रति आकर्षण बढ्दै गएको छ । स्वच्छ र गतिशील प्रशासनका लागि वाम गठबन्धनको सरकार नै चाहिन्छ ।’

नेपालको स्वाभिमान उच्चो राख्दै वाम गठबन्धनले छिमेकीसँग पनि असल कुटनीति कायम गर्ने बताउनुभयो । उहाँले वाम गठबन्धनले सरकार चलाएपछि ५ सय मेघावाटका १० वटा परियोजना लागू गर्ने, एक करोड पर्यटक नेपाल भित्र्याउने जस्ता काम सम्पन्न हुने पनि बताउनुभयो । उहाँले नारायणहिटी संग्राहलयलाई इतिहासदेखि अहिलेसम्मको इतिहास भेटिने संग्राहलय निर्माण गर्ने पनि बताउनुभयो । ‘वाम सरकार मिशन र भिजनसहित अघि बढेको छ,’ उहाँले भन्नुभयो, ‘वाम सरकारका आएपछि जनताले रुन नपाउने होइन रुनु नपर्ने अवस्था आउँछ ।’

कार्यक्रममा एमाले नेता कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धनको सरकार बनेपछि पहिलो क्याविनेट बैठकले नै कांग्रेस सरकारले गरेका गलत निर्णयहरु खारेज गरिदिने चेतावनी दिनुभयो । उहाँले दुईतिहाई बहुमतसहितको सरकार बाम गठबन्धनले बनाउने पनि दाबी गर्नुभयो । ‘वाम एकता कम्युनिष्टहरुका लागि कोशेढुंगा हो,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा नेता रामवीर मानन्धरले वामपन्थी सरकार बनेपछि कलाकारको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘मैले कलाकारको मर्मलाई बुझेको छु,’ उहाँले भन्नुभयो, ‘पहिला हामीलाई जिताएर पठाउनुहोला । तपाईँहरुको हितमा काम गर्ने दायित्व हाम्रो हो ।’

नेता केशव स्थापित र काठमाडौँ क्षेत्र नम्बर–७ क का वामपन्थीतर्फका उम्मेदवार डाक्टर अजयक्रान्ति शाक्यले पनि वाम सरकार जनताको सरकार हुने दाबी गर्नुभयो ।

कार्यक्रममा कलाकारहरु अशोक शर्मा, केशव भट्टराई, निखिल उप्रेती, आकाश अधिकारी लगायतले बोल्नुभएको थियो ।