२२ कार्तिक २०८३, आइतबार

शक्तिखोर र सिद्धिलाई बाख्रापालनको पकेट क्षेत्र बनाउन सकिनेः नगर प्रमुख श्रेष्ठ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोलेसिमल (चितवन), १ मंसिर । कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले नगरपालिकाको शक्तिखोर र सिद्धि क्षेत्रमा व्यवसायिक बाख्रापालनको पकेट क्षेत्रको रुपमा र अन्य क्षेत्रमा व्यवसायिक कृषिको विकास गर्न सकिने भएकोले सोहीअनुसार कार्यक्रम ल्याउन पनि पशु सेवा शाखालाई सुझाव दिएका छन् ।

पशु सेवा शाखा कालिका नगरपालिकाको आयोजनामा शुक्रबार भएको वार्षिक कार्यक्रम सार्वजनिकीकरण एवम् अन्तरक्रिया गोष्ठीमा बोल्दै नगर प्रमुख श्रेष्ठले कृषि क्षेत्रको विकासको लागि नगरपालिकाले बजेट विनियोजन गरेको बताउँदै व्यवसायिक र उन्नत कृषि प्रणालीको विकास गर्न नगरपालिकाले सहयोग गर्ने समेत बताए । कृषिको विकासको लागि आवश्यक लगानी र प्रविधिको साथसाथै लगानीपछि अनुगमनको पनि जरुरी रहेको श्रेष्ठले बताए ।

नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्ष एवम् नगरपालिका भित्रका पशु सेवा सम्बन्धि व्यवसायीहरुको समेत सहभागीता रहेको सो कार्यक्रममा पशु सेवा शाखाले नगरपालिका क्षेत्रमा १ वर्षभित्र गरिरहेका र गर्ने कामहरुको बारेमा छलफल भएको थियो । कार्यक्रममा आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाको बजेटका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिएको छ । सो शाखाले वार्षिक कार्यक्रमअन्तर्गत पशु बीमा, कृषक सम्मान, बाख्रा पालन तालिम, कुखुराको चल्लावितरण, पशु स्वास्थ्य शिविर, पशु आहार विकास, व्यवसायिक कृषिको विकास गर्ने लगायतका कार्यक्रमहरु सार्वजनिकीकरण गरिएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदी, कालिका नगरपालिका पशु सेवा शाखा प्रमुख सीताराम मरहठ्ठा, पशु सेवा प्राविधिक ईश्वरी प्रसाद पौडेल, नगरपालिकाका सूचना अधिकृत बलराम लुइटेल, वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ, वडा नम्बर ३ का वडा अध्यक्ष टिकाराज रिजाल, कृषक खडानन्द सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।