
– सुदीप अधिकारी
बर्दिया, १ मंसिर । जिल्लाको समग्र विकासका लागि नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले संयुक्त प्रतिवद्धता सार्वजनिक गरेका छन् । शुक्रबार सदरमुकाम गुलरियामा आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा बाम गठबन्धनको तर्फबाट जिल्लाको साझा प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो ।
नेकपा एमालेका उपाध्यक्ष तथा बाम गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार बामदेव गौतम, क्षेत्र नम्बर २ प्रतिनिधि उम्मेदवार सन्तकुमार थारु, प्रदेश सभाका लागि बाम गठबन्धनका उम्मेदवारहरु र पार्टी कार्यकताहरुको उपस्थितिमा साझा प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको साझा प्रतिवद्धता पत्रमा आगामी ५ वर्ष भित्र जिल्लामा भौतिक पूर्वाधार निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाइएको छ । पूर्वाधारहरु आगामी एक सय वर्षसम्मका लागि हुने बताइएको छ । जिल्लामा सञ्चालनमा रहेको बबई सिँचाई आयोजनालाई पूर्णरुपमा सञ्चालनमा ल्याउने, भेरी डाइभर्सन परियोजनालाई आगामी २ वर्षभित्रमा निमार्ण सम्पन्न गरिने, कृषिमा यान्त्रिकीकरण गर्नका लागि भूमीलाई चक्लाबन्दी गरिने, कर्णाली चिसापानी बहुउद्देश्य परियोजना आगामी ७ वर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता गरिएको छ ।
यसैगरि जिल्ला भित्रका ग्रावेल भएका सबै सडकहरु कालोपत्रे गरिने, जिल्लाका बाढी पीडीतलाई २ वर्ष भित्र सुरक्षित आवासको व्यवस्था गरिने, बबई नदी नियन्त्रण तथा व्यवस्थापन परियोजना संचालन गरि जिल्लालाई कटान तथा डुवान मुक्त गरिने प्रतिवद्धता जनाइएको छ । मुख्य राजमार्ग बाहेक जिल्लाका सबै स्थानीय तहलाई जोड्ने गरि सडक सञ्जाल विस्तार गरिने, पूर्व पश्चिम राजमार्गदेखि दक्षिणी भारतीय सिमा क्षेत्रसम्म सडक विस्तार गरिने, भूमीहिन मुक्तकमैया र सुकुम्बासीसँग जोडिएका सबै समस्याहरु २ वर्ष भित्र समाधान गरिने र प्रत्यक गाउँलाई ग्रामिण शहरको रुपमा विकास गरिने, हरेक नगरपालिकामा ५० शैयाको र गाउँपालिकामा २० शैयाको अस्पताल निर्माण गरि जिल्लाको स्वास्थ्य समस्या समाधान गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
बबई नदीको जब्दीघाटमा ४ लेनको पुल निमार्ण गरिने, हुलाकी सडकलाई ४ लेनमा स्तरोन्नती गरिने, प्रत्यक स्थानीय तहमा आधुनिक शित भण्डार स्थापना गरिने, थारु समुदायमा देखिने सिकल सेल एनिमिया रोगको उपचारका लागि बारबर्दिया नगरपालिकामा सुविधा सम्पन्न अस्पताल निमार्ण गरिने भुरिगाउँ तेलपानी हुँदै सुर्खेत जोड्नका लागि वातावरण तथा वन्यजन्तु मैत्री पर्यटन मार्ग निर्माण गर्न पहल गर्ने बाम गठबन्धनले प्रतिवद्धता जनाएका छन् ।












प्रतिक्रिया