जाजरकोट, १ मंसिर । कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै प्रतिद्वन्द्वीलाई जिताउनका लागि सहयोग गरेको देख्दा सबैलाई अनौंठो लाग्छ । दोस्रो संविधानसभामा जाजरकोट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका डम्बरबहादुर सिंह अहिलेका बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका शक्तिबहादुर बस्नेतसँग पराजित भएका थिए ।
तत्कालीन क्षेत्र नम्बर १ का उम्मेदवार बस्नेत र सिंहले चुनावका बेला एक/अर्कालाई आरोप प्रत्यारोप प्रशस्तै लगाएका थिए । अहिले सिंह नै बस्नेतलाई जिताउनका लागि गाउँ/गाउँमा भोट माग्दै हिँडेका छन् । पूर्वी क्षेत्रका सबै ठाउँमा परिचालनको मुख्य जिम्मेवारी बोकेर उनले बस्नेतका लागि गाउँगाउँमा पुगेर भोट मागिरहेका छन् ।
‘हाम्रो राजनीतिक लाइन जसरी अघि बढ्छ त्यसरी नै हामी अगाडि बढ्नुपर्छ ।’ सिंहले भने । बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेत पनि हिजोका राजनीतिक सम्बन्धलाई अहिले सम्झेर सम्भव नहुने बताउँछन् । ‘राजनीतिमा अनेक सम्भावना हुन्छन् । कहिले एकले अर्कालाई हराउनुपर्ने समय आयो भने अहिलेसँगै मिलेर जानुपर्ने भयो’ उनले भने, ‘राजनीतिमा यो नयाँ अनुभव हो । हामी नयाँ अभ्यास गर्दैछौं ।’
बाम गठबन्धनका कारण जाजरकोट प्रतिनिधि सभा र क्षेत्र नम्बर १ माओवादी केन्द्रको भागमा परेको छ भने क्षेत्र २ एमालेको भागमा परेको छ । -रासस












प्रतिक्रिया