सल्यान १, मंसिर । सल्यानमा स्वतन्त्र उम्मेदवारले माओवादी केन्द्रको झण्डा बोकेर प्रचारप्रसार गरेपछि बाम गठबन्धनले आपत्ति जनाएको छ । स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई पार्टीको झण्डा बोक्ने कुनै अधिकार नभएको भन्दै पार्टीका नेताहरूले कार्यकर्तामा अन्योल र भ्रममा नपर्न आग्रह गरेका छन् ।
बिनाविभागीय मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेतले बाम गठबन्धन विरुद्ध उम्मेदवारी दिएर पार्टीको झण्डा बोक्ने नैतिकता बागीलाई नभएकाले बागी उम्मेदवारका नाममा झण्डा बोकेर गाईजात्रा नदेखाउन चेतावनीसमेत दिए । ‘उहाँहरूले बाम गठबन्धनका विरुद्धमा बागी उम्मेदवारी दिनुभएको छ, चुनाव चिह्न अर्कै छ तर हँसिया हथौडा भएको झण्डा बोकेर अर्कै चुनाव चिह्नमा भोट माग्ने अधिकार कसले दियो ?’ मन्त्री बस्नेतले भने ।
बाम गठबन्धनका उम्मेदवारहरू नै आधिकारिक उम्मेदवार भएकाले कतै भ्रममा नपर्न उनले आग्रह गरे । ‘दुवै पार्टी एकताको कुरा छ, हामीले सल्यानको मात्रै चिन्ता गरेर हँुदैन देशभरि नै मिलाउँदा केहीले पाउने केहीले गुमाउने अवस्था आएकाले यसबाट निरास नहुन आग्रह गर्छु’, मन्त्री बस्नेतले भने ।
यता नेकपा (माओवादी केन्द्र) जिल्ला शाखाले पनि निर्णय गरेर नै आफ्ना आधिकारिक उम्मेदवार उठाएको जनाएको छ । बाम गठबन्धनले सल्यानलाई अन्याय गरेको भन्दै त्यसका विरुद्ध पार्टीको निर्णय बमोजिम उम्मेदवारी दिएकाले बागी उम्मेदवार भनेकाहरू नै आधिकारिक उम्मेदवार भएको दाबी गरेको छ ।
नेकपा (माओवादी केन्द्र)ले एक विज्ञप्ति जारी गर्दै कार्यकर्तालाई भ्रममा नपरेर बागी उम्मेदवारलाई जिताउन अनुरोध गरेको छ । बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बस्नेतले नै आफूहरुलाई उम्मेदवारी दिन लगाएको माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले दाबी गरे । जिल्ला पार्टीको निर्णय बमोजिम नै उम्मेदवारी दिएकाले पार्टीको झण्डा बोक्नु कुनै नयाँ नभएको भन्दै समानुपातिक मत माग्नका लागि आफूहरूले पार्टीको झण्डा प्रयोग गरेको बुढाथोकीको भनाइ छ ।
माओवादी केन्द्रले भने बाम गठबन्धनका विरुद्ध उम्मेदवारी दिएको भन्दै सल्यान जिल्लाका नौजना नेतालाई पार्टीको सदस्य नरहने गरी कारबाही गरेको यसअघि नै जानकारी गराइसकेको छ । जिल्लाको प्रदेश (क)मा गठबन्धनबाट गुलाबजंग शाह र बागीबाट भीमप्रसाद शर्मा, प्रदेश (ख)मा गठबन्धनबाट प्रकश ज्वाला र बागीबाट जीतबहादुर पुनले उम्मेदवारी दिएका छन् । यस्तै प्रतिनिधि सभा सदस्यमा गठबनधनबाट टेकबहादुर बस्नेत तथा बागीबाट उमाकान्त शर्माले उम्मेदवारी दिएका छन् । –रासस












प्रतिक्रिया