१२ मंसिर २०८३, शनिबार

राप्रपालाई साथ दिएपछि देउवाकै अगाडि बाँके कांग्रेसमा विद्रोह, वाम गठबन्धनलाई फाइदा

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज । नेपाली कांग्रेसका तत्कालीन सभपाति स्वर्गीय सुशील कोइरालाको निर्वाचन क्षेत्र राप्रपालाई दिएको भन्दै बाँके कांग्रेसका नेताहरू रुष्ट हुँदै मत नमाग्ने चेतावनी दिएका छन् ।

कोइरालाको निर्वाचन क्षेत्र रहेको बाँकेको प्रतिनिधि सभाको क्षेत्र नम्बर २ (पुरानो क्षेत्र नं. ३) मा कांग्रेसले कुनै पनि मूल्य र मान्यतामा छाड्न नहुने तर्क अघि सार्दै कांग्रेस नेताहरू रुष्ट भएका हुन् ।

उनीहरूको असन्तुष्टि मंगलबार पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेपालगञ्ज आएका बेला विमानस्थलदेखि पार्टी कार्यालयसम्म भएको व्यापक रुपमा असन्तुष्टि पोखिएको थियो ।

पुराना कांग्रेस नेता तथा कार्यकर्ताहरूले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले सुशील कोइरालाको योगदानलाई मेटाउने उद्देश्यले जातीय संतुलन समेत नहेरी टिकट वितरणदेखि आफूले सजिलै जित्ने क्षेत्र राप्रपालाई दिएको आरोप लगाए ।

पार्टीको केन्द्रीय निर्देशन अनुसार सो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाको लागि कांग्रेसको सहयोगमा राप्रापाका ओमप्रकाश आजाद उम्मेदवार भएपछि कांग्रेसका नेता तथा कार्यकर्ता विरोधमा छन् ।

उनीहरू पार्टीको चुनावी गतिविधिका कार्यक्रममा नदेखिने रणनीति बनाएको स्रोतले जनाएको छ ।

बाँकेका रुष्ट कांग्रेसीजनको नेतृत्व यतिबेला निवर्तमान सांसद अब्दुल हमिद सिद्दिकी भोलाले गरी रहेका छन् । उनले कुनै पनि हालतमा आफू सुशील कोइरालाको निर्वाचन क्षेत्रमा चुनाव चिन्ह गाईको लागि भोट माग्न नजाने घोषणा नै गरेका छन् । उनले भने, ‘पार्टीले सुशील कोइरालाको राजनीतिक ईतिहास नै मेटाउनले प्रयास गरिएको छ । हामी त्यसको विरोधमा छौं । कुनै पनि अवस्थामा म गाईमा भोट हाल भनेर भोट माग्न जान्न ।’

राजनीतिक दृष्टिले क्षेत्र नं. २ सँग कांग्रेसको प्रतिष्ठा जोडिएकोले सो क्षेत्र छाड्न नहुने जनाउँदै निवर्तमान सांसद सिद्दिकीले त्यसबाट कांग्रेस कमजोर हुने बताए ।

उनले भने, ‘पार्टीले हाम्रो सुनुवाई नगरेपछि चारतारे झण्डा र चुनाव चिन्ह रुखसंगै गाईलाई लिएर आफूहरू हिड्नै नसक्ने भएकोले बिहीबार संयुक्त प्रचार अभियानको उद्दघाटन कार्यक्रममा समेत गईन ।’ सिद्दिकीले चारतारे झण्डा र चुनाव चिन्ह रुख लिएर हिड्ने भए मात्र आफू प्रचारमा हिड्ने कुरा स्पष्ट रुपमा पार्टीमा राखेको बताए ।

कांग्रेसभित्र विरोध भएपछि त्यसो फाइदा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेदवारलाई हुने भएको छ ।