काठमाडौँ, ४ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) हस्तकला प्रदर्शनी तथा १२ औँ हस्तकला व्यापार मेला बिहीबारबाट प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ ।
सार्क क्षेत्रमा हस्तकला विकासको लागिसमेत उपयोगी हुने विश्वासका साथ १८औँ शिखर सम्मेलनको पूर्व सध्यामा पाँच दिने मेला आयोजना गरिएको नेपाल हस्तकला महासङ्घले जनाएको छ ।
सो अवसरमा उद्योगमन्त्री महेश बस्नेतले परम्परागत सीपको पहिचान गरी त्यसलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन हस्तकलाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
वार्षिक रु पाँच अर्बको निर्यात र रु आठ अर्बबराबरको आन्तरिक कारोबार रहेको हस्तकला व्यवसायले देशकोे आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उहाँले यस क्षेत्रको प्रवद्र्धनमा सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल र प्रत्येक विकास क्षेत्रमा राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि सरकारले तयारी गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले सार्कस्तरमा हस्तकलाको प्रदर्शनी तथा विकास स्थल बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले हस्तकला क्षेत्र अत्यन्त फराकिलो भएकाले यस क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
हस्तकला ग्राम तयारमा राज्यको सहयोग हुनुपर्नेमा जोड दिँदै उहाँले निकासी कर्तालाई प्रोत्साहन गर्ने नीति लिएको अवस्थामा यस क्षेत्रलाई माथि उठाउन सकिने धारणा राख्नुभयो ।
नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधारले हस्तकला क्षेत्रको विकासका लागि दक्ष प्राविधक तयार गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि राज्यले ध्यान दिनुपर्ने उल्लेख गर्नु भयो ।
कार्यक्रममा हस्तकला महासङ्घका अध्यक्ष हेमरत्न शाक्यले विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हस्तकला उत्पादन तथा व्यापारलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।
सार्क हस्तकला प्रदर्शनीअन्तर्गत ४० जना शिल्पीको सहभागिता रहेको छ । छवटा प्रदर्शनीमञ्चसमेत गरी २०९ वटा कक्षमार्फत सार्क क्षेत्रका हस्तकला व्यवसायीले भाग लिएका छन् । प्रदर्शनीमा सार्क सदस्य राष्ट्रका व्यापारीको सहभागिता रहेको छ ।
काष्ठकला र चाँदीका परम्परागत सजावटका वस्तुको हस्तकला प्रतियोगितामा नेपालका २१ जना कलाकारले भाग लिएका छन् । उनीहरूमध्ये उत्कृष्ट कलाकारलाई पुरस्कृत गरिने महासङ्घले जनाएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०७०/०७१ मा पाँच करोडभन्दा बढीको हस्तकलाका सामग्रीको निर्यात गर्ने व्यापारीलाई सम्मान गरिएको थियो । रासस













प्रतिक्रिया