६ कार्तिक २०८३, शुक्रबार

सार्क राष्ट्र परिचयः इस्लामिक गणराज्य पाकिस्तान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakकालिका खड्का

काठमाडौँ, ४ मङ्सिर । सार्कको संस्थापक सदस्यमध्येको पाकिस्तान सन् १९४७ अगस्ट १४ मा उदय भएको राष्ट्र हो ।

सन् १९३४ मा चौधरी रहमत अलीले बेलायती आधिपत्यका पंजाव, उत्तर–पश्चिम सीमान्त प्रदेश, कास्मिर, सिन्ध, बलुचिस्तानलाई ‘पाक’ (पवित्र) हुन्छ भन्ने पर्चामा छापेका थिए । त्यो क्षेत्रलाई पवित्र भूमि भन्न पाकस्तान (पाकिस्तान) भन्न थालियो ।

भारतबाट विभाजन भएर पाकिस्तानको जन्म भयो । इस्लामिक गणतन्त्र सन १९५६ मार्च २३ मा भयो । सन् १९७१ मा भारतसँग भएको युद्धमा पाकिस्तानको पूर्वी हिस्सा (जसलाई त्यस समयसम्म पूर्वी पाकिस्तान भनिन्थ्यो) बङ्गलादेशका रुपमा स्वतन्त्र भयो ।

ब्रिटिस साम्राज्यबाट देशलाई स्वतन्त्र गराउने सन्दर्भमा मुस्लिम लिगको नेतृत्व गरिरहेका अली जिन्नाहले दुई राज्य सिद्धान्तको प्रस्ताव गरे । सन् १९४० मा राखिएको सो प्रस्तावलाई पाकिस्तान र लाहोर प्रस्तावले चिनिन्छ । प्रस्तावअनुरुप ब्रिटिस साम्राज्यबाट स्वतन्त्रता तथा शक्ति हस्तान्तरणसम्बन्धी सहमतिमा अलग राज्य बने ।

पाकिस्तानको सरकारी भाषा उर्दू हो । मान्यता प्राप्त क्षेत्रीय भाषाहरुमा बलोची, पास्तो, पंजावी, सिन्धी, सिराइकी र अङ्ग्रेजी छन् । पाकिस्तानको राजधानी इस्लामावाद हो भने ठूलो र सुन्दर सहर कराँची हो । प्रमुख धर्म इस्लाम (९५ प्रतिशत) हो । केही हिन्दू, क्रिश्चियन, शिख, पर्सियन र बौद्ध छन् ।

पंजाव, सिन्ध, बलुचिस्तान र उत्तर–पश्चिम प्रान्तमा विभाजित यहाँको संसद् दुई सदनात्मक छ । तल्लो सदन नेसनल एसेम्वली ३४२ र माथिल्लो सदन सिनेट–१०० सदस्यीय छ । प्रान्तीय सभामा ७२८ सदस्य छन् । संयुक्त राष्ट्रसङ्घमा सन् १९४७ सेप्टेम्बर ३० तारिखमा प्रवेश गरेको पाकिस्तानले असंलग्न आन्दोलनमा सन् १९७९ छैटौँ सम्मेलनबाट प्रवेश पायो । नेपालसँग दौत्य सम्बन्ध सन् १९६० मार्च २० मा कायम भयो ।

करिब ७,९६,०९५ वर्ग किलोमिटरको यो देश क्षेत्रफलका हिसावले विश्वमा ३४आँै स्थानमा पर्दछ । यहाँको अग्लो स्थान माउण्ट केटु हो, जुन विश्वकै दोस्रो अग्लो स्थान हो ।  सात हजार मिटरभन्दा अग्ला हिमाल १८० वटा छन् । आठ हजार मिटर अग्ला हिमाल पाँचवटा छन् । सबैभन्दा लामो नदी इन्दुस हो । अरु नदीमा कोहात, झेलम, तोची, कावुल, खुराम, चेनव हुन् । प्रमुख आकर्षक ताल किनजार र मन्चार हो । हरियो र सेतो रङ्गको पाकिस्तानको झन्डा खुँडे चन्द्रमा आकृति माथि पाँचकुने तारा छ । राष्ट्रिय चिह्न अर्धचन्द्रमा हो ।

महत्वपूर्ण दिवसमा मार्च २३ मा पाकिस्तान दिवस, १४ अगस्टमा स्वतन्त्रता दिवस, ६ सेप्टेम्बरमा आत्मरक्षा दिवस  र जन्म दिवस सात डिसेम्बर हो ।  राष्ट्रिय जनावर जङ्गली बाख्रो र चरा चकोर हो । मुद्रालाई रुपी भनिन्छ । फिल्म उद्योग लल्लिउडको नामले चिनिन्छ ।

पूर्वमा भारत, पश्चिममा इरान र अफगानिस्तान, उत्तर–पश्चिममा अफगानिस्तान र चीन, दक्षिणमा समुद्रसँग जोडिएको पाकिस्तानको सिन्ध प्रान्तमा पर्ने थर्पर्कर विश्वकै ठूलो मरुभूमि हो ।  सो मुलुकमा हिउँदमा शून्यभन्दा तलको तापक्रमदेखि गर्मीमा ४५ डिग्री सेन्टिग्रेडसम्म पुग्छ । देशको मध्ये भागमा ४५ सेन्टिग्रेडसम्मको तापक्रम पुग्दछ । सामान्यतया २५० मिमिदेखि १२५० मिमिसम्म वर्षा हुन्छ ।

विश्व बैंकको २०१४ को प्रतिवेदनअनुसार पाकिस्तानको जनसङ्ख्या १८ करोड ५९ लाख ५४ हजार ३९६ छ । जनसङ्ख्या वृद्धिदर २ दशमलव १७ प्रतिशत छ जुन सन् २०१३ मा १ दशमलव ५९ प्रतिशत थियो । सरदर प्रतिव्यक्ति आय १३८० डलर, औसत आयु ६६ वर्ष, गरिबी दर १२ दशमदब ४ प्रतिशत र कूल आर्थिक वृद्धिदर ३ दशमलव ७ छ । पाकिस्तानका ८९ प्रतिशत जनताले स्वस्थ खानेपानी पाएका छन् ।

हिमालय पर्वतको थुप्रै उच्च शिखर रहेको यहाँको बीचबाट बनेको सकरा मार्ग ‘खैबर घाँटी’को नामबाट प्रसिद्ध छ । दक्षिणतर्फ यसको सङ्गमबाट सिन्धु नदी बन्दछ जसको घाँटी अझै उब्जाउ छ । दक्षिणमा यो अरबी समुद्रसँग गएर मिल्दछ । सिन्धुको सहायक नदीहरु पंजावको आसपास भएर बग्दछ जसका कारण पंजावमा कृषियोग्य जलवायु छ । सिन्धु नदीको पश्चिम र दक्षिण–पश्चिममा बेलुचिस्तानको इलाका मरुभूमि छ ।

यहाँको अर्थव्यवस्थामा कृषिको योगदान कम हुँदै गैरहेको छ । कृषि घरेलु उत्पादनको मात्र २० प्रतिशत हिस्सा छ, जबकि ५३ प्रतिशत सेवा क्षेत्रबाट आउँदछ ।  तर राजनीतिक उथल–पुथलका कारण आर्थिक विकासमा नकारात्मक प्रभाव परेको छ ।

पाकिस्तानका प्रमुख राजनीतिक दलहरु पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) हो । बेनजिर भुट्टो यसै पार्टीमा हुनुहुन्थ्यो । यसको स्थापना उनका पिता जुल्फिकार अली भुट्टोले गरेका थिए । पाकिस्तान मुस्लिम लिग, मुत्तहिदा मज्लिस–ए–अमल र तहरीक–ए–इन्साफ पार्टी  पनि यहाँका मुख्य पार्टीमा पर्दछन् ।

पाकिस्तानको स्थानीय तहका परिषद्मा ३३ प्रतिशत सिटहरु महिलाका लागि छुट्याइएको छ । अफगानिस्तानको द्वन्द्वका कारण थुप्रै अफगान शरणार्थी पनि यस देशमा शरणार्थीका रुपमा छन् ।

सन् २०१५ सम्ममा पाकिस्तानको शिक्षा मन्त्रालयले बालबालिकालाई प्राथमिक शिक्षामा भर्नादर शतप्रतिशत पु¥याउने र १० वर्षभन्दा माथिको साक्षरता ८६ प्रतिशत पु¥याउने लक्ष्य छ ।

दक्षिण एसियाली मुलुकको प्रतिनिधित्व गर्दै पाकिस्तानको बालिका शिक्षा अभियन्ता मलाला युसुफले सन् २०१४ को नोबेल शान्ति पुरस्कार पाएर एउटा नयाँ कीर्तिमान बनाइन् । १७ वर्षीया मलाला नोबेल पुरस्कार पाउने सबैभन्दा कम उमेरकी हुन् । उनले इस्लामिक मुलुकका महिलालाई शिक्षा दिनुपर्र्छ भन्ने अभियान चलाउँदै आएकी छिन् ।

पाकिस्तानमा चौथो शिखर सम्मेलन सन् १९८८ डिसेम्बर २९ देखि ३१ सम्म इस्लामावादमा भएको थियो भने १२औँ सार्क शिखर सम्मेलन सन् २००४ जनवरी ४ देखि ६ सम्म पाकिस्तानको इस्लामावादमै भएको थियो ।