१२ मंसिर २०८३, शनिबार

लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः प्रधानमन्त्री देउवा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २९ कात्तिक । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा लोकतन्त्र वा अधिनायकबाद कसलाई रोज्ने भन्ने निर्णय गर्ने अधिकार जनतालाई रहेको बताउनुभएको छ ।

कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा आज आयोजित काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा मात्र व्यक्तिको स्वतन्त्रता हुने भएकाले एकदलीय कम्युनिष्ट व्यवस्थामा यो अधिकार हुँदैन भन्नुभयो ।

सभापति देउवाले देश चुनौतीपूर्ण मोडमा उभिएको चर्चा गर्दै नेपाली काँग्रेसले मात्र देशको समृद्धि र विकास गर्न सक्ने बताउनुभयो ।

“म सुदूरपश्चिमवासीकै सहयोगमा चार चार पटक प्रधानमन्त्री भए, म सँग झगडा गर्ने, लड्ने अधिकार र हक तपाइहरुसँग छ” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले कर्णाली नदीमा बनेको पुलका साथै पूर्व–पश्चिम राजमार्गको चिसापानी–महेन्द्रनगर सडक खण्डमा २२ वटा पुल आफ्नै नेतृत्वको सरकारले निर्माण गरेको उल्लेख गर्दै “म सुदूरपश्चिमकै बासिन्दा भएकाले मेरो हात बलियो बनाउन सहयोग गर्नुहोस” भन्नुभयो ।

कैलाली क्षेत्र नं. १ बाट काँग्रेसकी प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वरी न्यौपानेले हरेक आन्दोलनको सफल नेतृत्व गरेको काँग्रेसबाट मात्र देशको विकास र समृद्धि सम्भव रहेको धारणा व्यक्त गर्नुभयो ।

क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेसका मोहनसिंह राठौरले लोकतान्त्रिक गठबन्धन बनेसँगै आफूहरुको विजय सुनिश्चित भइसकेको बताउनुभयो ।

एमालेका निवर्तमान सांसद एवं पूर्वमन्त्री समेत रहेका राठौर टिकट वितरणका क्रममा तीन हप्ताअघि मात्र काँंग्रेसमा प्रवेश गर्नुभएको थियो ।

सभामा नेकपा एमाले र (माओवादी केन्द्र)का स्थानीय नेता तथा कार्यकतालाई सभापति देउवाले पार्टी प्रवेश गराउनुभएको थियो । रासस