१ कार्तिक २०८३, आइतबार

युवाद्वारा ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ अभियान

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

म्याग्दी, २९ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा जन्मिएका युवाले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ अभियान शुरु गरेका छन् ।

घारमा जन्मिएर विश्वका विभिन्न देशमा रोजगारी, व्यापार, शिक्षालगायतका क्षेत्रमा संलग्न युवाले आफ्नो गाउँका विभिन्न समस्यालाई केन्द्रित गरी ‘मातृभूमि सेवा घर’ नामक संस्था स्थापना गरेका छन् ।

संस्थाको स्थापनासँगै पहिलो प्राथमिकता गाउँमा एम्बुलेन्समार्फत बिरामीको नियमित उपचार, आर्थिक, शैक्षिक, स्वास्थ्य, व्यक्तित्व विकास, सीपमूलक तालीम, दक्ष जनशक्ति परिचालन, स्थानीय स्रोतसाधनको प्रयोग, दिगो आयआर्जनका क्षेत्रमा समेत प्राथमिकता दिने अध्यक्ष बद्री बरुवालले बताउनुभयो ।

“यो गैरराजनीतिक संस्था हो, हामीले गफभन्दा पनि काममा विश्वास गर्छौं” बरुवालले भन्नुभयो । उहाँले राजनीतिक आदर्श, भाषण र अनावश्यक आश्वासनबाट आजित भएका गाउँलेलाई प्रवासमा रहेका युवाको उपहारको रुपमा समेत संस्थाको स्थापना गरिएको बताउनुभयो ।

घोरेपानी, पुनहिलजस्ता प्रसिद्ध पर्यटकीयस्थल समेत रहेको घारमा पर्यटन, जलविद्युत्का साथै अन्य विभिन्न आयआर्जनका क्षेत्रमा समेत लगानीको आवश्यकता रहेको संस्थामा संलग्न युवाको भनाइ छ । संस्थाको तदर्थ समितिमा विभिन्न देशबाट प्रतिनिधित्व रहेको छ ।

आफ्नो गाउँलाई आफ्नै सक्रियता आवश्यकता पर्छ भन्ने सन्देशसहित स्थापना गरिएको संस्थाले नियमित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतासमेत जनाएको छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित स्थापना भएको संस्थाले शैक्षिक र स्वास्थ्यको क्षेत्रबाट आफ्नो अभियानको शुरुवात गर्ने तयारी गरेको छ । – रासस