२२ कार्तिक २०८३, आइतबार

बागलुङमा २२ केजी अवैध चरेश नष्ट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रबिना बोहरा

बागलुङ, २७ कात्तिक । जिल्ला प्रहरी कार्यालय बागलुङले २२ केजी ५० ग्राम चरेश मालढुंगामा लगी नष्ट गरेको छ । प्रहरी नायब उपरिक्षक विश्वराज सिंह थापा, प्रहरी निरिक्षक सुरेन्द्र ढुंगाना, अनुसन्धान अधिकृत दामोदर भट्टराई, जिल्ला अदालतका दानबहादुर थापा एवं पत्रकारको रोहबरमा उक्त चरेश नष्ट गरिएको हो ।

यही कात्तिक १२ गते विगत २५ बर्ष देखी अवैध लागु औषध चरेस मुद्धामा फरार रहेका बागलुङका एक व्यक्ति पक्राउ परेका थिए । बागलुङको बडिगाड गाउपालिका वडा नम्बर ८ का हस्त पाइजालाई अवैध रुपमा बोकेर हिडेको अवस्थामा खर्बाङ प्रहरी चौकीबाट गएको प्रहरीको टोलीले २२ केजी ५० ग्राम चरेश सहित दरमखोला पुल नजिकै पक्राउ गरिएको थियो । प्रहरी नायब उपरिक्षक विश्वराज सिंह थापाले चरेश सहित भेटिएका व्यक्तिलाई लागु औषध ऐन अनुसारको कारबाही अगाडी बढाइएको बताउनुभयो ।

उहाले बागलुङलाई लागुऔषध मुक्त जिल्ला गराउनका लागि प्रहरीले अभियान थालेकाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पछि यसलाई व्यापक रुपमा अगाडी बढाउने बताउनुभएको छ । अहिले उक्त मुद्धाको थप अनुसन्धान भैरहेको पनि बताउनुभयो ।

चरेश मुद्धामा पक्राउ परेका पाईजा धनबहादुर बुढाका नाममा परिचित भएपनि प्रहरीले अनुसन्धान गर्दा हस्त पाइजा भएको पत्ता लागेको प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले जानकारी दिनुभएको छ । २०४९ सालमा गुल्मी जिल्लाबाट ५० केजी चरेश सहित फरार अभियुक्तको सुचीमा रहेका पाईजा बागलुङबाट चरेश सहित पक्राउ परेका थिए । समय समयमा प्रहरीले बिचौलियाका रुपमा काम गर्ने भरियाहरुलाई पक्राउ गर्ने भएपनि प्रमुख कारोबार गर्ने व्यक्तिलाई अझै सम्म पक्राउ गर्न सकेको छैन ।

प्रहरी उपरिक्षक खापुङले १० केजी भन्दा माथिको चरेश सहित पक्राउ परेमा धरौटीमा छुट्न नपाइने र ५ बर्ष देखी १२ बर्ष सम्म कैदको सजाय रहेको बताउनुभएको छ । यस्ता घटनाहरु बारम्बार हुने भएकाले प्रहरीले जिल्लाभर चेकजाँचमा कडाई गरेको पनि बताउनुभएको छ ।