२२ कार्तिक २०८३, आइतबार

राज्यकोष लुटेर विकास हुँदैनः वाम उम्मेदवार चौधरी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २७ कात्तिक । संयुक्त बाम गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं. ३ प्रदेश सभा २ का एमाले उम्मेदवार तुलसीप्रसाद चौधरीले राज्यकोषको दुरुपयोग गरेर समृद्धिको सपना देख्नु हास्यापद भएको बताएका छन् । सोमबार तिलोत्तमा नगरपालिका वडा नं. १३ मा आयोजित घरदैलो कार्यक्रममा बोल्दै चौधरीले सत्ता र शक्तिमा पुग्दा सके जति राज्यकोष दोहन गर्ने तर चुनावका बेला जनतालाई विकासका सपना बाड्नेबाट रुपन्देहीको विकास हुन्छ भनेर पत्याउन नसकिने बताए ।

‘हाम्रो अगाडि केही उम्मेदवारहरु यहाँको बाटो मैले बनाएको हुँ । शिक्षा, स्वास्थ्यको क्षेत्रमा मैले काम गरेको हुँ, अब जिते भने समृद्ध क्षेत्र बनाउँछु भन्दै झुट्टा आश्वासन बाड्दै हिँडिरहेका छन्’, चौधरीले भने– ‘क्षेत्र, जिल्ला र समग्र देशको विकास राज्य कोष दोहन गर्नेबाट नभई बामगठबन्धनका उम्मेदवारले जिते गर्छन् ।’ पैसा, शक्ति र सत्ताका लागि जे पनि गर्नेबाट जनचाहना पुरा नहुने बताउँदै उनले त्यस्ता उम्मेदवारलाई जनताले समयमै पहिचान गरी ठेगान लगाउनु पर्ने बताए ।

आफू सदियौं देखि यहाँका उत्पीडित, असाहय, गरीब, सीमान्तकृत, निमुखा जनताको साथमा रहेर काम गरेको बताउँदै चौधरीले भने– ‘तपाईहरुसँग मैले लामो समय सँगसँगै काम गरेको छु, यहाँको समस्याका बारे परिचित छु, मैले जिते तपाईंहरुका चाहना बमोजिम काम गर्छु । राज्यको समृद्धि र यस क्षेत्रको विकासका लागि दिन रात खट्छु ।’

बाम गठबन्धनले कुनै जाति, धर्म र संस्कृति विशेषको मात्रै पक्षमा काम नगर्ने बताउँदै चौधरीले सबै क्षेत्र, समुदाय र वर्गको प्रतिनिधिमूलक विकासका लागि आफूलाई जिताउन मतदातालाई आग्रह गरे । घरदैलोका क्रममा चौधरीले वडाबासीको गुनासो सुनेका थिए ।

यसैबीच क्षेत्र नं. ३ प्रदेश सभा २ मा युवा संघ नेपाल र वाइसियल नेपालको सचिवालय स्तरीय संयुक्त बैठकले शुक्रबार अमवा बजारमा बृहत् भेला गर्ने निर्णय गरेको छ । सोमबार फर्साटिकरमा सम्पन्न बैठकले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन संयुक्त भेला गर्न लागिएको युवा परिचालन समितिका संयोजक किरण नेपालले बताए । बैठक संयोजक नेपालको अध्यक्षता तथा सहसंयोजक शम्भु लोनियाको संचालनमा सम्पन्न भएको थियो ।