२२ कार्तिक २०८३, आइतबार

वाम उम्मेद्वार भन्छन्- स्थिरता र समृद्धिका लागि भोट दिनुस्

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेखनाथ, २६ कात्तिक । मंसिर २१ गते हुने चुनाव केन्द्रित हुँदै उम्मेदवारसहित नेता तथा कार्यकर्ताले घरदैलोमा पुगेर मत मागेका छन् । स्थिरता र समतामूलक समाज निर्माणका लागि वाम गठबन्धनलाई जिताउन आग्रह गर्दै उनीहरुले मत मागेका हुन् ।

पोखरा १० मा गठबन्धन कार्यालय

चुनावी अभियानका क्रममा पोखरा १० मा निर्वाचन परिचालन कमिटीको कार्यालय शुभारम्भ गरिएको छ । कार्यालयको कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खगराज अधिकारीले उद्घाटन गरे । उनले राजनैतिक स्थायित्व, स्थायी सरकार र तीव्र आर्थिक विकासका लागि बाम गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताए । ‘समृद्ध नेपाल निर्माणका लागि बाम उम्मेदवारको जित आवश्यक छ,’ उनले भने, ‘एमाले र माओवादी केन्द्रको गठबन्धन समृद्धिको अभियान हो ।’

क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा खका उम्मेदवार मनबहादुर गुरुङले जनताले भोग्नुपरेका समस्या समाधान गर्र्न तल्लीन हुने प्रतिबद्धता गरे । ‘निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न म लाग्छु,’ उनले भने । चुनाव प्रचारप्रसार समिति पोखरा १० का संयोजक गंगा कुँवरको अध्यक्षतामा भएको कार्यक्रम सचिव राजु श्रेष्ठले सञ्चालन गरेका थिए । गठबन्धनका उम्मेदवारले आफ्ना समर्थकको साथमा वडा नं. १० का विभिन्न स्थानमा आइतबार घरदैलो तथा कोणसभा गरेका छन् ।

कोइराला घरदैलोमा

कास्की क्षेत्र नं १ को प्रदेश सभा १ का उमेदवार दीपक कोइराला आइतबार नेता, कार्यकर्तासहित पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० का विभिन्न ठाउँमा पुगे । उनले आफना चुनावी एजेन्डा र आगामी दिनमा गर्न सकिने विकास, निर्माणबारे प्रकाश पार्दै आफूलाई जिताउन आग्रह गरे । टोलीले शिशुवाचोक, लक्ष्मी आर्दश, खयर खोर, डुँडाकोमुख हुँदै खुदीसम्म घरदैलो गरेको हो ।

चोक चोकमा भएका कोणसभामा प्रदेश सभाका उम्मेदवार दीपक कोइराला, नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कोमलनाथ बराल, क्षेत्र नं १ कका संयोजक विजयबावु बनवासी, सहसंयोजक विनय थापा, कार्यदलका सचिव छविलाल लामिछाने, नेता टीकाराम पंगेनी, शालिकग्राम पौडेल र मोहन गुरुङ लगायतले देशको स्थायी सरकार बनाउन बाम गठबन्धनका उमेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।

समृद्ध मुलुकका लागि उम्मेदवारीः अधिकारी

नेकपा एमालेका नेता तथा कास्की क्षेत्र नं. २ का प्रतिनिसधसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले राजनीतिमा फोहोर थुप्रिएको भन्दै त्यसलाई सफा गरेर समृद्ध मुलुक सपना साकार पार्ने अठोट गरेका छन् । पोखरामा आयोजित सभामा अधिकारीले विचारको प्रतिस्पर्धामा उत्रिन आहन गर्दै शेरबहादुर, रामचन् आधा दर्जनपटक उम्मेदवार हुँदा केही नबोल्नेले आफूलाई ३ पटक चुनाव जिताउनु हुँदैन भन्नु तर्कविहीन भएको दाबी गरे ।

अधिकारीले जतिबेला कांगेसले आफ्ना नेतालाई अब तपाईलाई पुग्यो, अरुलाई पालो दिनुस् भन्न सक्छन् र त्यतिबेला आफू पनि चुनाव नलड्ने बताए । उनले भने, ‘राजनीतिमा थुप्रिएको फोहर सफा गरेर समृद्ध मुलुकको सपना साकार पार्न वाम गठबन्धनको साझा उम्मेदवार बनेको हुँ ।’

ग्रामीण विकास प्राथमिकतामाः करण

कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले किसानमैत्री सरकार निर्माणका लागि बाम गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् । उनले वन, जंगल, जल, जमिन र जडिबुटी सदुपयोगको नेतृत्व आफू र आफ्नो पार्टीले लिने उद्घोष गरे । उनले ग्रामीण विकास आफ्नो प्रमुख प्राथमिकता भएको जनाए ।

समानुपातिक उम्मेद्वार सोमनाथ अधिकारी ‘प्यासी’ले कास्कीलाई कम्युनिस्टको लालकिल्लाको संज्ञा दिँदै यसपालिको चुनावपछि यहाँ बाम गठबन्धनको झण्डा गाडिने उद्घोष गरे ।

हारजित जनताको हातमाः थापा

चुनाव प्रचारप्रसारका लागि जनताको घरदैलोमा पुगेका कास्की क्षेत्र नं २ प्रदेश १ का उम्मेदवार कृष्ण थापाले जनताकै हितमा काम गर्ने उम्मेद्वार विजय हुने बताएका छन् । प्रचारप्रसारका लागि पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ पुगेका थापाले जनताले आफूलाई भोट दिएर विजयी बनाउने विश्वास प्रकट गरे । ‘जसले काम गर्छ, जनताले उसैलाई भोट दिन्छन्,’ उनले भने, ‘हारजित जनताकै हातमा हुन्छ ।’

वाम गठवन्धनलाई जनताले स्वागत गरेकाले जित सुनिश्चित रहेको उल्लेख गरे । ‘वाम गठवन्धनमा जनतालाई पूर्ण विश्वास छ,’ उनले भने, ‘राजनीतिक अस्थिरतालाई यही गठवन्धनले पार लगाउनेछ ।’ विगतमा आफ्नो पार्टीले गरेको कामको मूल्यांकन गरी जनताले साथ दिएको उनको भनाइ छ । ‘हामी काममा विश्वास गर्छौै,’ उनले थपे, ‘कास्कीमा स्थानीय चुनावले नै देखाएको छ कि जनता कसको पक्षमा छन् ।’

उनको प्रदेश निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिकाका वडा नम्बर ७, १५, १७, २१ र ३३ छन् । जस अन्तर्गत वडा नम्बर ७ मा आइतबार घरदैलो भएको थापाका सहयोगी रामराज पौडेलले बताए । आइतबार मासबार, रत्नचोक, जनप्रिय टोल, राष्ट्र बैक चोक हँदै मुस्ताङ चोक लगायतका ठाँउमा घरदौलो कार्यक्रम गरिएको हो ।

आइतबार नै भूपू प्रहरी तथा सैनिक संगठन पोखरा–१७ को बैठक बसेको छ । बैठकले वाम गठवन्धनका उम्मेदवारलाई जिताउन परिचालित हुने निर्णय गरेको क्षेत्रीय समन्वय कमिटी कास्की २ प्रदेश १ कार्यालय व्यवस्थापन संयोजक हीरा गिरीले जानकारी दिइन् । संगठनका अध्यक्ष प्रेमबहादुर पराजुलीको अध्यक्षतामा बैठक भएको हो ।

लेकसाइडमा संयुक्त घरदैलो

वाम गठवन्धन क्षेत्र नम्बर ३ (ख) का उम्मेदवारले पोखराको लेक साइडमा संयुत घरदैलो गरेका छन् । एमाले नेता गणेश तिमिल्सिनाले ५० वर्षदेखि विभाजित नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न वाम गठवन्धन भएको बताए ।

आगामी १० वर्षमा ५० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित चुनावमा होमिएको प्रतिनिधि सभाका उम्मेदवार जगत विश्वकर्माले बताए । विकास तथा समृद्धिका लागि नागरिक अधिकार, अवसर, सुरक्षा र सम्मानका चार स्तम्भलाई सुदृण गर्न उम्मेदवारी दिएको प्रदेश ३ (ख)का उम्मेदवार राजीव पहारीले बताए ।