२२ कार्तिक २०८३, आइतबार

को हुन् बाम गठबन्धनबाट प्रदेशसभाका उम्मेदवार अर्जुन केसी ?

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), २६ कात्तिक । निकै सालिन, संघर्षशील, जुझारु, सहयोगी र मिलनसार युवा । सधैं फूर्तिलो, मिजासिलो र फूर्तिलो अनुहार । उनी हुन् युवा नेता अर्जुन के.सी. । वि.सं. २०२४ साल फागुन ५ गते स्वर्गीय बुवा दीर्घ बहादुर केसी र लोकमाया केसीको कोखबाट नवलपरासी जिल्लाको साविक कोल्हुवा गाविस वडा नं. २ नवलपुर (हाल मध्यवर्ती नगरपालिका) मा उनको जन्म भएको हो । हाल उनी शिवराज नगरपालिका ५, चन्द्रौटा कपिलवस्तुमा बस्दै आएका छन् ।

२०४२ सालमा एस.एल.सी. पास गरेका युवा नेता के.सी. विद्यार्थी जीवनदेखि नै राजनीतिकमा लागेको बताउँछन् । कम्यूनिष्ट विचारधाराका उनी राजनीतिमा लागेदेखि एमालेकै सिपाहीको रुपमा रहेको उनी बताउँछन् । सामान्य परिवारमा जन्मिएका उनी २०५० सालदेखि नै निर्माण व्यवसायीको रुपमा काम समेत गर्दै आएका छन् । निर्माण व्यवसायबाट आएको कमाईले पारिवारिक गुजारा चलाउँदै आएको उनको भनाई छ । उनी समाजसेवी, राजनीतिज्ञ र निर्माण व्यवसायीकै रुपमा समाजमा छवि कायम गरेका छन् ।

उनी गणित विषयबाट बी.ए. र राजनीतिकशास्त्रबाट एम.ए. सम्मको अध्ययन पूरा गरेका छन् । १५ वर्षअघि २०६३ मा एम.ए. सम्मको अध्ययन पूरा गरेका युवा नेता के.सी.मा एमालेको विभिन्न नेतृत्व सम्हालेको अनुभव छ । उनी नेकपा एमालेको जिल्ला उद्योग विभाग सदस्यदेखि लिएर गाउँ कमिटी, नगरकमिटी र क्षेत्रीय कमिटीको नेतृत्व सम्हालिसकेका छन् ।

राजनीतिमा निकै सक्रिय के.सी. लाई एमालेले गत स्थानीय तहको निर्वाचनमा नगरप्रमुखको लागि नाम प्रस्ताव गरेको थियो । उनलाई पार्टीले पछि अन्य ठाउँमा स्थान दिने भनेपछि उनी पछि हटेका थिए । पार्टीप्रति वफादार रही पार्टीले खटाएका हरेक गतिविधिमा उनको महत्वपूर्ण योग्दान रहेको थियो । उनको योग्दानको मूल्यांकन गर्दै आगामी मंसिर २१ गते हुन लागेको आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा उनले उम्मेदवार बन्ने मौका पाए ।

के.सी. संयुक्त बाम गठबन्धनको तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३, प्रदेशसभा १ का उम्मेदवार हुन् । नेकपा एमालेबाट सूर्य चुनावचिन्ह लिएर अहिले उनी प्रदेशसभा सदस्यको लागि चुनावी दौडधुपमा छन् । मनोनयन दर्ताको दिनदेखि उनी घरदैलो, सभासम्मेलनमा व्यस्त छन् । विहान उठेदेखि राति अबेरसम्म पनि उनी चुनावकै प्रचारप्रसारमा व्यस्त छन् ।

प्रदेशसभामा आफ्नो पकड राम्रो रहेकाले यसपटक बाम गठबन्धनकै जीत सुनिश्चित रहेको उनको दाबी छ । आफू हरपल समाजसँगै रहेकाले यस क्षेत्रका नागरिकले बाम गठबन्धनलाई जिताउने उनको विश्वास छ । सम्पूर्ण जातजाति, भाषा, धर्म संस्कृतिका सबैलाई समाज अधिकार दिएर एक समृद्ध देश बनाउने बाम गठबन्धनको परिकल्पना रहेको बताउँदै कपिलवस्तुलाई एक उत्कृष्ट जिल्ला बनाउने आफूले सपना देखेको उनको भनाई छ ।

जबजलाई आफ्नो जीवन दर्शन ठान्ने के.सी.का एक श्रीमती र दुईभाइ छोरा छन् । बुवाआमाका तीन भाइ छोरामध्ये उनी जेठा छोरा हुन् ।