काठमाडौं, २५ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले उम्मेद्धवार तथा आम मतदाताहरुलाई सरकारले तत्काल सुरक्षाको प्रत्याभुति गर्नुपर्ने माग गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले, ‘सरकारले उम्मेदवारदेखि मतदाताहरु सम्मको सुरक्षाको लागि विशेष सुरक्षाको व्यवस्था गर्नुपर्छ, उम्मेदवारलाई लक्षित गरेर जुन किसिमका घट्नाहरु भएका छन्, यसबारेमा आयोगको गम्भिर ध्यानाकर्षण भएको छ ।’
उनले अगाडि भने, ‘हिजो र आज जुनकिसिमले उम्मेदवारमाथि आक्रमण भएको छ, यो अत्यन्तै दुःखद् छ, सरकारले सुरक्षाको पूर्ण प्रत्याभुति गर्नुपर्छ भनेर हामीले आयोगको तर्फबाट सरकारको ध्यानाकर्षण गराएका छौं, अब त्यस्तो घट्ना नदोहोरियोस् ।’ उनले निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्नको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
मतदाता तथा उम्मेदवारको पूर्ण सुरक्षाको लागि आफूहरुले सरकारको ध्यानाकर्षण गरेपछि भोलि दिउँसो १ बजे उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक समेत बोलाईएको जानकारी दिए । उनले भने, ‘यो घट्नामा हामी विशेष चिन्तित छौं, भोलि उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बस्दैछ, घट्नाको बारेमा हामीले भन्दापनि सुरक्षा निकायले जवाफ दिन्छ, उम्मेदवारदेखि मतदाताहरु सम्मको सुरक्षाको प्रत्याभुति हुनुपर्छ ।’
उनले यस्ता घट्नालाई जोडेर मंसिर १० र २१ गते हुने निर्वाचन सर्ने भनेर प्रचार नगर्न समेत आग्रह गरे । उनले भने, ‘मंसिर १० र २१ गतेको निर्वाचन अकाट्य छ, निर्वाचन नहुने भन्ने कुरामा कतै शंका नगर्नुहोस्, तर यस्तो घट्नाबाट सबै संयमित हुनुपर्छ ।’
यादवले निर्वाचन नहुने भन्ने कुरामा आफूले नसोचेको समेत दाबी गरे । उनले थपे, ‘पुसदेखि अहिलेसम्मको कुरा गर्नुहुन्छ भने मेरो निद्रापनि पातलो भएको छ, निर्वाचनको स्वामित्व सबैले लिईसकेका छौं, अब यो विसाउन मिल्दैन् ।’
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि सबैको भूमिका भएपनि विशेषगरि पत्रकारहरुको झनै ठूलो भूमिका हुने बताए । उनले भने, ‘पत्रकारले निर्वाचनको वातावरण बनाउँदै आउनुभएको छ, उहाँहरुको भूमिकाप्रति म खुलेर प्रशंसा गर्न चाहन्छु, अब पत्रकारहरुको कलम निर्वाचनमुखी हुनुपर्छ ।’
मंसिर १० गते हुने पहिलो चरणको निर्वाचन अन्तर्गत ७ गतेसम्म प्रचारप्रसारको समय रहेकोले निर्वाचन आयोगले पनि मतदान केन्द्रित कार्यक्रमहरु अघि बढाएको उनको भनाई थियो । उनले भने, ‘मतदान सम्बन्धी सामाग्रीहरु सियोदेखि धागोसम्म जिल्लामा पुगिसकेको छ, मतपत्र पनि पुगिसकेको छ, मतदान केन्द्रका आधारमा पुर्याउने काम भैरहेको छ ।’ त्यस्तै उनले मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको लागि आजसम्म १२ जिल्लाको मतपत्र छपाई काम सम्पन्न भएको समेत उनले जानकारी दिए । उनले भने, ‘चाँडोभन्दा चाँडो हामी आवश्यक सामाग्री पूरा गर्छौं ।’
त्यस्तै उनले आयोगले अहिले निर्वाचन तयारीको क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुसँग पनि निरन्तर छलफल गरिरहेको जानकारी दिए । उनले भने, ‘आयोगले अहिले विभिन्न समूह खासगरी बौद्धिक वर्गदेखि अन्यसम्म छलफल गरिरहेको छ, अहिले गृहिणीले घरबाट र किसानले खेतबाट निर्वाचन र उद्योगीले उद्योग व्यवसायबाट निर्वाचनबारे सोच्नुभएको छ, अब सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ ।’
त्यस्तै उनले कर्मचारी खटनपटनमा निश्पक्षताकायमहोस भनेर आयोगले गोलाप्रथाबाट गर्नेबारे प्रस्ताव गरेपनि अहिलेसम्म कुनै निर्णय नभएको स्पष्ट पारे । उनले भने, ‘निजामती कर्मचारी र स्थायी शिक्षकहरु हाम्रो जनशक्ती हुन्, निर्वाचनमा खटन पटन निश्पक्षता कायम होस् भनेर नै हामीले यस्तो प्रस्ताव गरेका हौं, तर निर्णय भएको छैन ।’











प्रतिक्रिया