११ मंसिर २०८३, शुक्रबार

वाम गठबन्धनले मुलुकलाई निकास दिन्छ : पूर्वप्रम खनाल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २५ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताउनुभएको छ ।

इलामको लक्ष्मीपुरस्थित दाहालटारमा आज बिहान कार्यकर्तासँगको भेटघाटमा उहाँले भन्नुभयो—“अहिले कम्युनिस्टहरूबीच वाम गठबन्धन भएको देखेर अधिनायकवाद आयो भन्नेहरू नै मुलुकमा अधिनायकवादी शैली अपनाउँदैछन् ।”

इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता खनालले मुलुकमा आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउने नयाँ योजनाका साथ वाम एकता गरिएको उल्लेख गर्दै “अब देशले छिट्टै निकास पाउनेछ, वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर पाँच वर्षसम्म परिवर्तन ल्याउँछ,” भन्नुभयो ।

देशमा जस्तोसुकै अप्ठ्यारा र अवरोध आएका बेला वाम शक्ति एक भएपछि समाधान भएको स्मरण गर्दै उहाँले सिद्धान्त र विचार मिल्ने वाम शक्तिबीच एकता हुने र यसले संविधानको पूर्ण कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इलाम जिल्ला पर्यटकीय र कृषि क्षेत्रमा अग्रणी जिल्ला मानिएकाले यसको योजनाबद्ध विकासका लागि पहल गर्ने बताउँदै उहाँले यस क्षेत्रको सडक, विद्युत्, शिक्षा, कृषि क्षेत्रको विकास गर्नेमा आफू प्रतिवद्ध रहेको बताउनुभयो । – रासस