बर्दिया, २४ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेलाई मधेश विरोधी भन्नेहरु नै मधेशी समुदायको शत्रु भएको बताएका छन् । गुलरिया नगरपालिका वडा नम्बर ९ टेपरीमा आयोजित बाम गठवन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले एमाले कुनै पनि हालतमा मधेश र मधेशी समुदायको विरोधी हुन नसक्ने बताए ।
बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उमेदवार समेत रहेका उपाध्यक्ष गौतमले मधेशमा एमालेको लोकप्रियता देखेर विरोधीहरुले हल्ला फैलाएको आरोप लगाए । गौतमले भन्नु भने, ‘एमाले मधेश र मधेशीको विकास चाहने एक मात्र पार्टी हो । मधेश र मधेशी समुदायलाई सवल, सक्षम र समृद्ध बनाउन लागि रहन्छ ।’
बाम गठबन्धनका उम्मेदवार गौतमले एमाले र माओवादी केन्द्र मिलेर मंसिरपछि सरकार बनाउने र त्यसपछि मधेशमा रहेका समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने दाबी गरे । मधेशी समुदायमा रहेको नागरिकताको समस्यालाई आफूले नजिकबाट बुझेको र त्यसको समधानका लागि आफूले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने गौतमले प्रतिवद्धता व्यक्त गरे ।
अधिकांश समय सरकारमा रहेको नेपाली कांग्रेसले मधेश र मधेशी समुदायको हितमा कुनै काम नगरेको दाबी गर्दै उपाध्यक्ष गौतमले बाम गठवन्धको सरकार बनेपछि मधेशी समुदायका महिलाहरुको लागि समेत अनिवार्य रुपमा रोजगारीको व्यवस्था गरिने बताए । बाम गठबन्धनको लोकप्रियता देखेर अत्तालिएकाहरुले भ्रम फैलाउन सक्ने भन्दै गौतमले सबैलाई सचेत रहन समेत आग्रह गरे ।
चुनावी सभालाई बाम गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (ख) का उम्मेदवार तिलक शर्मा ‘हिमाल’, समानुपातिक तर्फका धनेश कुमार यादव लगायतले सम्बोधन गरेका थिगए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र र एमालेमा प्रवेश गरेकाहरुलाई एमाले उपाध्यक्ष गौतम र माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बर्दिया इञ्चार्ज हिमालले स्वागत गरेका थिए ।
यसरी पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेस निकट दलित संघका क्षेत्रीय सचिव तारा बहादुर सुनारसहित ५० जना माओवादी केन्द्रमा र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य दिलिप श्रीवास्तवसहित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबाट ६० जना एमालेमा प्रवेश गरेका थिए ।
गुलरिया नगरपालिकाको वडा नं. ८, ९ र १० को वडास्तरीय चुनावी सभा सम्पन्न गरिएको बाम गठबन्धन गुलरिया नगरकमिटीले जनाएको छ ।











प्रतिक्रिया