११ मंसिर २०८३, शुक्रबार

विजय गच्छदारलाई एमालेकी भगवती चौधरीको कडा चुनौती

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २४ कात्तिक । सुनसरी जिल्लाबाट पटक–पटक विजयी हुँदै आएका कांग्रेसका विजयकुमार गच्छदार यस पटक निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार छन् ।

कुनै बेला नेपाली कांग्रेसका प्रभावशाली नेता रहेका गच्छदार २०६४ पछिको एक दशक मधेसकेन्द्रित दलको नेता भए । दस वर्षपछि कांग्रेसमै फर्किएका उनी छैटौंपटक प्रनिधिसभामा पुग्न उम्मेदवार बनेका हुन् ।

दुहवी नगरका बासिन्दा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी दुवै मोरंगिया थारुमा पर्छन् । थारु समुदायको मत जसले पक्षमा ल्याउन सक्छ उसैको विजय हुने अडकलबाजी छ ।

गच्छदारलाई यसपटक वाम गठबन्धनबाट एमाले वैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीले टक्कर दिँदै छिन् । गच्छदार २०७० सालको संविधानसभा निर्वाचनमा उनै चौधरीलाई झिनो मतान्तरले पराजित गरी विजयी भएका थिए ।

त्यतिबेला गच्छदारले चार दशकको राजनीतिक यात्रामा पहिलोपटक अत्यन्त कठिनसाथ चुनाव जितेको अनुभव सुनाएका थिए ।

यसपटक चौधरी जसरी भए पनि गच्छदारलाई हारको स्वाद चखाउने दाउमा छिन् । उनले चुनाव जित्न सबै प्रकारको रणनीति बनाएकी छिन् ।

उनी २०६४ सालमा बनेको संविधानसभा मन्त्रिपरिषद्बाट मनोनीत सभासद थिइन् । त्यसपछि उनी एमाले वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको सरकारमा राज्यमन्त्री भइन् ।

पछिल्लो समय एमाले अध्यक्ष केपी ओली निकट मानिएकी चौधरी राजनीतिक र सामाजिक अभियानलाई सँगसँगै अघि बढाएर मतदाता आकर्षित गर्न सक्रिय छिन् ।

कांग्रेसमा प्रवेश गरेपछि गच्छदारको अवस्था झन् बलियो भएको राजनीतिक अडकलबाजी हुन थालेको छ । गच्छदार र चौधरी दुवै दुहवी नगर क्षेत्रका बासिन्दा हुन् ।