११ मंसिर २०८३, शुक्रबार

यादव समुदायका ‘साहेब’, देउखुरीमा यसरी जिते मन

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २४ कात्तिक । विश्वको अग्लो त्रिशुल दाबी गरिएको धार्मिकस्थल बराहदेव धारपानी मन्दिर । जिल्लाको धार्मिक आस्थाको केन्द्रकै रुपमा गनिन्छ । कांग्रेस क्षेत्र नम्बर १ का उम्मेदवारहरुले चुनाव चिन्ह पाएलगत्तै प्रचार अभियान यहि थलोबाट सुरु गरे ।

बुधवार बिहान उम्मेदवार, नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति, मन्दिरका पूजारीले टीका लगाइदिदै भने ‘विजयी हुनु’ । भगवानको दर्शन गरेर प्रफुल्लित मन लिएर देउखुरी ओर्लिएका उम्मेदवारहरू गढवा हुँदै बेलाको सोमई थान मन्दिरमा पुनः आशिष थाप्न पुग्ने । यो मन्दिरको दर्शनपछि उनिहरुको आशिष माग्ने थलो बने मतदाताका बस्ती ।

यसैक्रममा प्रतिनीधिसभा सदस्य उम्मेदवार जानकीलाल बस्नेत आफ्नो चुनावी क्षेत्र प्रदेश सभा २ का बस्तीतर्फ लागे, राजपुर, बेला, बनकी, लैबरुवा, सिक्टा गाउँतिर । राजपुरको यादव समुदायको बाहुल्य रहेको बस्ती फोहरा गाउँ, जुन गाउँ कैयन पटक आगलागीबाट खरानी बन्यो ।

त्यहाँका मतदाताहरूको पहिलो अपेक्षा नै यहि छ, ‘आगलागीबाट बस्ती जोगियोस् ।’ जानकीलाल आफ्ना कार्यकर्तासहित फोहरा गाउँमा पाइलो टेक्दा वित्तिकै उनको क्रेज छताछुल्ल बन्यो । सडक छेउमा रहेका यादव समुदायका नागरिकहरु उनीसामु झुम्मिए । ‘हमारा नेता साहेब आईगयन,’ यादव बस्तीका ‘साहेब’ जानकीलालको क्रेज गाडीबाट ओर्लिना साथ सुरु भयो ।

‘हात समातेर ढोग्ने सम्मका यादव समुदायका उनका फ्यानहरू अंकमाल गर्दै दुःख व्यथा समेत खुलस्त पोखे । ‘आप कैसन हो ?’ यादव समुदायकै भाषाबाट गरेको साहेबको सोधनीले यादवहरूले झनै अपनत्व महशुस गररे शायद । ‘हल्का भुखार है, और तो सब अच्छा है, साहेव ।’ ती बृद्धको निधार छाम्दै जानकीले भने ‘लमही आईहो दवा करनेके लिए ।’

सडकबाट सुरु भएको उनको क्रेज गाउँभित्र प्रवेश गर्दा झनै विछट्टै देखियो । जानकी सबैभन्दा अघिअघि थिए, कार्यकर्ताहरू पछिपछि । जानकीलाई देख्नासाथ गाउँलेहरूले भन्थे ‘साहेब आईगयन, हमारा नेताजी आईगएन ।’ घर बाहिर यत्रतत्र फालिएका सरसामानभित्र राखेर उनलाई स्वागत गर्न कैयन महिलाहरूलाई हम्मे हम्मे देखियो ।

‘कांग्रेस नेता यादव समुदायका ‘साहेब’ यादव समुदायका लोकप्रिय नेता हुन्’ यो चर्चा पहिले देखिनै सुनिदै आएको थियो, तर देख्ने मौका बुधवार जु-यो । जानकीसंगै पुगेका पार्टीका कार्यकर्ता तथा उनका शुभेच्छुकहरू समेत उनको क्रेज देखेर अचिम्मत भए । उनलाई यादव समुदायले गरेको स्वागत हेर्न लायक थियो, मानौ उनी केन्द्र तहकै बरिष्ठ नेता हुन्, जानकीले त्यो सम्मान पाउँदा रहेछन् यो समुदायको बस्तीमा ।

नजिकै आउने जो सुकैसंग उनी नेताको रुपमा प्रस्तुत भएनन् । सबैलाई भन्थे ‘आशिष लेने आया हुँ ।’ आँफू कहाँ आशिष माग्न आएको भन्दै ‘साहेब’ले दिएको अभिव्यक्तिले स्थानीयलाई झनै हर्षित तुल्यायो । स्थानीयहरुले आफ्ना साहेबको जीतको कामना गर्दै आशिर्वाद दिए । घरघरमा पुगेर आशीर्वाद लिएका जानकीलालले उनीहरुलाई कुुनै आश्वासन पनि बाँडेनन् ।

उनले बुझेका छन् आश्वासन भन्दा महत्वपूर्ण कुरा अपनत्व र आत्मियता । हो, यहि आत्मियताकै कारण यादव समुदायका साहेब बनेका छन् जानकीलाल । घरघरमै पुगेर भेट गरेका जानकीले घरमा नभएकाहरुलाई कुरेरै बसे । आफूलाई कुरेर बसेका ‘साहेब’ लाई देख्नासाथ शायदै उनीहरुलाई अप्ठ्यारो महशुस भएको थियो, अनि परैबाट हात जोर्दै साहेब भनेर अंकमाल गर्न आउनेहरुको ‘साहेब प्रेम’ निकै रोचक देखिन्थ्यो ।

घरमा पुगेर मतदातासंग भेटघाट गर्नेक्रममै एकजनाले सोधे ‘साहेब पान ?’ जानकीलालले खाने भन्दै पान बनाउन पठाए । अर्का एकजनाले पान लिन जान थालेकालाई सुझाव दिए‘साहेब वाला पान बनवाईहो ।’ जानकीको अर्को क्षमता उल्लेख गर्न लायक देखियो । उनले गाउँमा भेटिने जो सुकैलाई चिनदा रहेछन् । सबैको नााम लिएर आत्मियताका साथ उनले बोलाउँथे, यादवकै भाषा मार्फत । यति मात्रै हैन, ससना बालबच्चाहरुको समेत हेक्का राख्दा रहेछन् उनले । उनले साना बालबालिकाहरुसंग समेत उनिहरुका बाबु आमाको नाम लिँदै कता छन् ? भनेर सोध्थे ।

यादव समुदायका प्रिय जानकीलालले यो बस्तीमा बिकास कति गरे या गरेनन् ? यसको श्रेय उनले लिँदैनन् । तर यादव समुदायले उनको गुण अधिक मान्ने गरेको छ । यो बस्तीमा आईपर्ने जुनसुकै विपद् वा दुख सुख दुबैमा मल्हम बन्दै आए । यसर्थ उनि यो बस्तीकै एक्ला साहेब कहलिएका छन् । आशिष मात्रै थाप्न बुधबार बस्ती पुगेका उनै साहेब जानकी प्रचारका क्रममा फेरि त्यो बस्तीमा पुग्ने बाचा गरेर त्यहाँबाट पश्चिम तर्फ लाग्दै थिए ।

सडक छेउमा पाँच सात जनाको अर्को समूह बसिरहेको थियो । उनी त्यहिँ पुगे । आफू उम्मेदवार बनेको जनाउँदै दिँदै सहयोग गर्न आग्रह गरेका जानकीलाई त्यो समुहले पनि भन्यो ‘हमारा नेता आप हो साहेब, हमारा नेता और कोई नहि ।’ यो बस्तीका मतदाताबाट आशिष लिएपछि उनि आफ्नै थलो लैबरुवातर्फ लागे । जहाँ गाउँलेहरु उनको स्वागतका लागि पर्खिरहेका थिए । मतदाताहरु समक्ष मत माग्न नभई आशीर्वाद लिन पुगेका जानकी अविरले राताम्य बनेर फर्किए ।