२ कार्तिक २०८३, सोमबार

उपेन्द्रलाई हराउन मधेसी गठबन्धनमा यस्तो अन्तर्घात

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २३ कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध मधेसी गठबन्धनमा अन्तर्घात सुरु भएको छ । सुनसरी छाडेर सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लडिरहेका यादवलाई ‘टुरिस्ट’ उम्मेदवार भन्दै गठबन्धनमा रहेको दल राजपा नेपालबाटै अन्तर्घात भएको हो ।

आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि संघीय समाजवादी फोरम र राजपाबीच चुनावी गठबन्धन भएको छ । जसअनुसार एकले अर्काे दलको उम्मेदवारलाई सघाउने भनिएको छ । तर, उपेन्द्र यादवका हकमा भने त्यो लागु भएको छैन् ।

सप्तरीमा यादवविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका राजपा नेपालका नेता जेपी ठाकुरको पार्टीले उम्मेदवारी फिर्ता गराउन सकेको छैन् भने अहिलेसम्म कारवाही पनि गरेको छैन् ।

यो पनि अन्तर्घातको एउटा उदाहरण हो । रोचक त के छ भने ‘बागी’ उठेका जेपी ठाकुरले राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरकै सुझावमा आफूले उपेन्द्र यादवविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको कुरा खुलेयाम बताउने गरेका छन् । यो कुराले फोरमका अध्यक्ष यादवसहित नेताहरुलाई सशंकित बनाएको छ ।

यस्तै, मंगलबार मात्रै बसेको महन्थ ठाकुरको पूरानो पार्टी तमलोपाका नेताहरुको छुट्टै बैठकले मधेसी गठबन्धनलाई भोट नहाल्ने निर्णय गर्दै उपेन्द्रलाई चुनावमा हराउने संकेत दिएका छन् । यो बैठकमा पनि ‘बागी’ उठेका जेपी ठाकुरले आफूलाई महन्थ ठाकुरले नै चुनावमा उम्मेदवारी दिन भनेको दाबी गरेका थिए ।

यता राजपा नेपाल सप्तरीका उपाध्यक्ष सुरेन्द्र मण्डलले जेपी ठाकुरलाई टिकट दिने कुरा पहिलादेखि निश्चित भइसकेको र अन्तिममा उपेन्द्र यादवलाई दिएर पार्टीले सप्तरीमाथि धोका गरेको भन्दै आफूहरुको भोट गठबन्धनलाई नजाने स्पष्ट पारे ।

यसले पनि राजपा नेपालले उपेन्द्र यादवलाई भोट नदिने देखिन्छ । जसबाट उनी हार्न सक्छन् ।

यता, गठबन्धन गर्दा पनि राजपा नेपालका नेता कार्यकर्ता अफूलाई हराउने खेलमा लागेपछि उपेन्द्र यादवले संयोजक महन्थ ठाकुरलाई फोन गरेर सातो खाएका छन् । स्रोतका अनुसार उनले यस्तै ताल देखाए गठबन्धन अघि बढ्न नसक्ने चेतावनी पनि दिएका थिए ।

‘बागी उम्मेदवार फिर्ता नगराएको, आफ्नो विरुद्धमा राजपाका नेताहरु उत्रेको भन्दै यादवले यस्तै अवस्था रहे गठबन्धन नै अप्ठ्यारोमा पर्नसक्छ भन्दै चेतावनी दिनुभयो,’ फोरम नेपालका एक नेताले भने- ‘महन्थजीले म मिलाउँछु भन्नु भएको छ ।’