११ मंसिर २०८३, शुक्रबार

मतदातालाई पैंसा बाँडेको आरोपप्रति एमाले नेता आलेको आपत्ति

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, २३ कात्तिक । डोटीमा बाम गठबन्धनबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार प्रेम आले मगरले मतदातालाई पैंसा बाँडेको भन्दै लागेको आरोपको खण्डन गरेका छन् ।

बाम गठबन्धनको सुनिश्चित जित देखेर अत्तालिएकाहरूले निर्वाचनको मुखमा सुनियोजित ढङ्गले प्रचारबाजी गरेको आलेले बताए । उनले भने, ‘डोटी समाचार डट ब्लगस्पट डट कममा प्रेम आलेमगरले पैंसा बाँड्यो भनेर भ्रामक हल्ला फिंजाईयो, त्यो ब्लगस्पट मिडिया हाउस पनि होईन, हाम्रो बामगठबन्धनको पक्षमा जनलहर देखेर अत्तालिएकाहरुले षड्यन्त्रपूर्वक यस्तो झुट प्रचारबाजी गरेकाले यस्ता फेक ब्लगस्पटलाई कडाभन्दा कडा कारवाहीका लागि अब म प्रक्रियामा जान्छु ।’

एक महिलाको हातमा पैंसा र नजिकै एमालेका नेता आले उभिएको फोटो सामाजिक सञ्जालमा यतिबेला भाईरल बनेको छ ।

यस विषयमा आलेले भने, ‘कात्तिक २१ गते बामगठबन्धन डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा संयुक्त बैठक तथा अगुवा कार्यकर्ता भेला थियो, सोही कार्यक्रम सकिने बेला वडा नं. ६ गाँजरीकी एक महिला आर्थिक सहयोगको गुहार माग्दै त्यहाँ पुगिन् । ती महिलाले आफू एचआईभी संक्रमित भएको र एकल महिला पनि भएको बताउँदै आफ्नो छोराको पिसाव नलीमा समस्या भएकाले आर्थिक सहयोग मागेको हो । वडा कार्यालयको सिफारिस, डक्टरको रिपोर्ट साथमा बोकेर हिंडेकी महिलालाई कार्यक्रमका सहभागीहरूले सक्दो सहयोग जम्मा पारेर उनलाई दिइएको हो । चन्नरी भण्डारी नामकी ती महिलाको छोरा बिरामी भएर जीवनमरणको अवस्थामा हुँदा सबैले सक्दो रकम उठाएर दिएका हुन् । जम्माजम्मी त्यो रकम कति थियो, त्यो पनि मलाई एकिन थाहा छैन ।’

उनले भने, ‘एउटा हावादारी ब्लगस्पटमा नियतबस गरिएको झुटो प्रचारलाई समाचार बनाउने मिडिया हाउसप्रति पनि मेरो आपत्ती छ । समाचार बनाउँदा के भएको हो भनेर मलाई सोधिएको पनि छैन । एकतर्फी गरिएको अतिरञ्जितपूर्ण कार्यको घोर भत्र्सना पनि गर्दछु ।’

नेता आलेले पैंसा बाँडेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको र आयोगले २४ घण्टे म्याद सहित उनलाई स्पष्टीकरण सोधेको समाचार पनि बाहिर आएका छन् ।

आफूलाई स्पष्टीकरण सम्बन्धमा कुनै जानकारी नभएको उनले बताएका छन् । उनले भने, ‘समाचार बाहिर आयो भन्ने हल्ला मात्रै सुनेको छुँ, मलाई निर्वाचन आयोगले कुनै स्पष्टीकरण सोधेको आधिकारिक जानकारी छैन, के रैछ ? म फोन गरेर बुझ्छु ।’

यद्यपि निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गरेर कुनै अनलाईनले आलेले पैंसा बाँडेको भन्ने समाचार प्रकाशन गरेको पाईएकाले आयोगको ध्यानाकर्षण भएको जनाउँदै २४ घण्टे म्याद सहितको स्पष्टीकरण माग गरेको छ ।

नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा डोटी इञ्चार्ज समेत रहेका नेता आलेले आफू सधैं जनताका माझमा गएर जनताका पक्षमा काम गर्ने भएकाले जनताको साथ रहेको देखेर अत्तालिएकाहरूले गरेको दुस्प्रचारले निर्वाचनमा आफ्ना मतदाताहरूमा कुनै असर नपर्ने दावी गरे ।