जनकपुर, २२ कात्तिक । राष्ट्रिय जनतापार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एव्म धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेद्धवार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो सबक सिकाउने दाबी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले धनुषाको जनकपुरमा नेता महतोसँग आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा महतोले अहिलेको निर्वाचनलाई आफूहरुले निर्वाचनरुपी आन्दोलन कै रुपमा उपयोग गरिरहेको बताउँदै भने, ‘जनताको मत आन्दोलनको पक्षमा आउनुपर्छ, हुनुपर्छ । आन्दोलनमा सहभागिता भएका सम्पूर्ण जनताहरुले मधेश आन्दोलनको विरुद्धमा लाग्ने, दमनगर्ने, मधेशी जनताको छातीमाथि गोली बर्साउनेहरुलाई हराएर पठाउनुपर्छ ।’
नेता महतोले विगतमा भएका मधेश आन्दोलनका विरुद्धमा सरकारी पक्षले बुलेटको प्रयोग गरेर जनताको अधिकार खोसेको भएपनि अहिले जनताले बुलेटभन्दा पनि तागदकारी हतियार ब्यालेट पाएकोले अब त्यसको जवाफ दिने बेला आएको स्पष्ट पारे ।
उनले भने, ‘अबब् यालेटको उपयोग जनताले गर्नेछन् । सरकारी शक्तिशाली हतियारभन्दा बलियो हतियार हामीसँग छ, हिजोको मधेश आन्दोलनका क्रममा सप्तरीको मलेठमा ६ जना मधेशी दाजुभाईहरुको हत्या भयो, अब त्यसको पनि हिसाबकिताब जनताले दिन्छन् । मधेशी जनताको विरुद्धमा संविधान जारी भयो, यो हामीलाई कहिल्यै स्विकार्य छैन, यो संविधानको पक्षमा आफूले पनि हस्ताक्षर गरेर अरु मधेशीलाई पनि बाध्य बनाउने कांग्रेसका शीर्ष मधेशी नेता यहीँ जनकपुरका हुन् ।’
मधेश आन्दोलनका क्रममा राज्यले मधेशीहरुको हत्या गरेकोले अब सरकारमा बसेर गोली चलाउने, दमन गर्नेहरुलाई अब जनताले राम्रोसँग हिसाबकिताब चुक्ता गराउने उनको भनाई थियो । महतोले अघि थपे, ‘जबसम्म समग्र मधेशको विकास हुँदैन, मधेशमा कुनै न कुनै आन्दोलन भैरहन्छ । ब्यालेट जनताको हातमा छ । मधेश आन्दोलनलाई समाप्त पार्नेको विरुद्धमा अब मतहालेर देखाउने बेला आएको छ। उनीहरुलाई चुनावबाटै हराएपछिमात्रै सिँगो मधेशीजनताले सफलता पाउनेछन् ।’
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले त जनकपुरको विकास आफूलेमात्रै गरेको भन्दै म नै मधेशको मसिहा हो भनेर भन्नुभएको छ नि भनेर पत्रकार ऋषि धमलाले सोधेको एक प्रश्नमा उनले भने, ‘मधेशी जनताको आन्दोलनमाथि गोली चलाउने र दमन गर्ने मान्छे मधेशको मसिहा हुनै सक्दैन । उनको पार्टी स्वयम पनि मधेशीको भलो गर्ने पार्टी होईन, आन्दोलनकारीलाई गोली ठोक्नेले अहिले आएर म मधेशी जनताको पक्षमा छु भनेर भन्नु हाँस्यस्पद कुरा हो, यो कुरा जनताले अब पत्याउनेवाला छैनन, उनलाई साँच्चिकै भन्ने हो भने पनि नैतिक रुपमा मत माँग्ने अधिकार छैन ।’
सोही क्षेत्रबाट कांग्रेसबाट उम्मेद्धवार समेत रहेका निधि प्रति निकै कडा रुपमा प्रस्तुत भएका महतोले अब निधिलाई जनताले नपत्याउने ठोकुवा गरे । उनले थपे, ‘जसको सन्तानलाई गोली हानेर हत्या गर्नेले त्यही पीडित परिवारसँग अब के भनेर भोट माँग्छन, यो त हुनै सक्दैन, यो निर्वाचन क्षेत्र नम्बर ३ मा पनि हुँदैन, र धनुषामा पनि हुँदैन ।’
उनले जनकपुरवासीले नेता निधिलाई पटक पटक चुनाव जिताएर पठाएपनि उनले यहाँको विकासको लागि सिन्को पनि नभाँचेको आरोप लगाए । उनले थपे, ‘यो जनकपुरको अवस्था हेर्नुहोस्, यो निधि जहिल्यै पनि सरकारमा बस्यो, अहिले चुनावमा कुनआधारमा जनताको समर्थन लिन खोजेको हो ? मैले त बुझ्न सकेको छैन, त्यसैले अब उनले चुनाव जित्ने त कुरा परै जाओस्, मत माँग्ने पनि नैतिकता छैन, अब जनता विगतमा गरेको गल्ती दोहोर्याउने पक्षमा छैनन ।’
महतोले निधिसँग जनकपुरका जनताले बदला लने समेत दाबी गरे । उनले आफू सर्लाहीको मान्छे धनुषा आएको विषयलाई ठूलो नबनाउन आग्रह गर्दै भने, ‘आन्दोलनकारीको कुनै गाउँ, घर, क्षेत्र र जिल्ला हुँदैन, हामी अहिलेपनि आन्दोलनकै क्रममा छौं, विगतमा ६÷६ महिना विरगन्जमा गएर आन्दोलन गरें, कहिले जनकपुर त कहिले विराटनगरमा गएको छु, यो निर्वाचनमा पनि हामी आन्दोलन गर्न आएका हौं।’
उनले पार्टी नेतृत्वको सल्लाह र आम मधेशी जनताहरुको माँगअनुसार नै आफू धनुषामा चुनाव लड्न आएको स्पष्ट पारे । उनले भने, ‘उच्च प्राथमिकताका साथ म जनताको माँगलाई, आग्रहलाई सम्मान गर्दै यहाँ चुनाव लड्न आएको छु, जनकपुरको विजयी भनेको सम्पूर्ण मधेशको विजयी हो । यहाँको सफलता भनेको सबैको सफलता पनिहो, धनुषालाई प्राथमिकतामा लिएका छौं ।’
मधेशी जनताको हत्यारालाई सबक सिकाउनको लागि जनकपुरका जनताले नेतृत्ववर्ग आउनुपर्छ भनेर व्यापक माँग गरेको कारण आफू यहाँआएको उनको भनाई थियो । उनले भने, ‘लडाई गर्ने मान्छेको कुनै क्षेत्र हुँदैन, सहिदको कुनै क्षेत्र हुँदैन, आन्दोलनहुने सबै जिल्लाहरु उसको क्षेत्र हुन् । सबैभन्दा बढि र ठूलो आन्दोलन यहाँ जनकपुरमा भएको छ, गोली चलाउने र जनताको विरुद्धमा संविधानबनाउने नेताले जितेर गयो भने विश्वले के भन्छ ? त्यसैले यस्तो नहोस् भनेर नै हाम्रो पार्टीले म जस्तो दह«ो र सक्षम नेतृत्वलाई उसँग लड्न पठाएको छ। म पार्टीको भावनालाई सम्मानगर्दैयहाँआएको छु । म लडाई लड्न आएको हुँ । अब तपाई मधेशीजनताले भरपुर जवाफ दिनुपर्छ ।’
समग्र मधेशमातपाईहरुले कति सिट जित्नुहुन्छ भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा नेतामहतोले भने, ‘आन्दोलनले चुनाव जित्छ । जनताले जति सिट जिताउँछ, त्यति सिट जित्छौं । तर यति कुरा प्रष्ट हुनुहोस् कि हामी अत्यधिक धेरै सिट जित्छौं । अब कांग्रेसीको दिन गए । उनीहरुले हाम्रो विकास गरेनन् । जनताले अब कुरा बुझिसके । यहाँ मधेशवादीबाहेक अरु कसैको केही चल्नेवाला छैन । अब जनता भ्रममा छैनन् । संघर्ष नै हो । निर्वाचनलाई हामीले आन्दोलनकै रुपमा लिएका छौं । भोलि मधेशविरोधी नै चुनाव जितेर गएभने मधेश आन्दोलन गलत थियो भन्छन्, त्यसैले जनता सतर्क छन् । योपटक जनताको हातमा बन्दुक छ । त्यो बन्दुक भनेको ब्यालेट छ । बुलेटभन्दा पनिब्यालेट नै तागददार छ। ब्यालेटले सहिदबनाइ दिन्छौं ।’











प्रतिक्रिया