
काठमाडौँ, २१ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका महासचिव ईश्वर पोखरेललाई प्रधानमन्त्री बनेर देश हाँक्न सक्ने नेता भन्दै प्रशंसा गरेका छन् ।
काठमाडौँ क्षेत्र नम्बर ५ मा मंगलबार आयोजित चुनाव परिचालन समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पोखरेललाई भविष्यको प्रधानमन्त्रीको रुपमा चित्रित गरेका हुन् ।
‘ईश्वर पोखरेल देशको प्रधानमन्त्री पनि बन्न सक्ने क्षमता राख्नुहुन्छ, प्रधानमन्त्री अरुको भागमा परे उपप्रधानमन्त्री भइसकेको बानी त उहाँलाई लागेकै छ ।’– ओलीले भने ।
एमाले महासचिव पोखरेल २०७० सालको चुनावमा यो क्षेत्रमा चुनाव हारेकोमा उनले कार्यकर्ता र मतदातासँग प्रश्न पनि सोधे । उनको भनाइ थियो – ‘ईश्वरजीले अघिल्लोपटक चुनाव हारेकोमा मलाई आश्चर्य लागेको छ । २०७० सालमा सूर्यमा ग्रहण लागेको थियो । पटकपटक सूर्यमा ग्रहण लाग्दैन् । यसपटक चाँहि उहाँको जित पक्का छ । विजयका लागि अग्रिम शुभकामना !’
अध्यक्ष ओलीले एमाले महासचिव पोखरेलका प्रतिस्पर्धी काँग्रेस उम्मेदवार डा. प्रकाशशरण महतप्रति कटाक्ष पनि गरे । उनले भने –‘एक जना उम्मेदवार नुवाकोटको मानामा नअटाएर पोखिन आएका छन् भन्ने सुनेको छु । त्यस्ता उम्मेदवारले यस क्षेत्रका लागि के गर्लान ?’
एमाले अध्यक्ष ओलीले आगामी ५ बर्षभित्र भोका र नांगाहरुको अन्त्य हुने बताए । ‘कोही पनि नागरिक खाना नपाएर भोकै बस्नुपर्दैन्, कपडा नभएर कोही नांगो पनि हुनुपर्दैन् ।’, अध्यक्ष ओलीको अपिल छ –‘वामपन्थीलाई सरकार बनाउन बहुमत दिनुस्, हामी विकास र समृद्धि दिन्छौँ ।’
एमाले महासचिव एवं काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार पोखरेलले आफू यस क्षेत्रका जनताको सुख, दुःखमा सँधै साथमा रहेको बताए । ‘मैले चुनाव जित्दा र हार्दा पनि यसै क्षेत्रका लागि काम गरेको छु । तपाईंहरुको साथमा रहेर यस क्षेत्रलाई कायापलट गर्न चाहन्छु ।’ –उनले भने । एमाले महासचिव पाखरेलले काठमाडौँको टोखा–छहरे हुँदै चाइना जोड्ने सडकको स्तरोत्तरी, हरेक नागरिकलाई स्वास्थ्य बिमा, न्यूनवर्गीयहरुलाई शिक्षाको व्यवस्था, कला, संस्कृति र सांस्कृतिक स्थानको संरक्षण र सम्बद्र्दनसहित २५ बुँदे प्रतिबद्धता नै सार्वजनिक गरेका छन् ।
कार्यक्रममा प्रदेशतर्फका वाम गठबन्धनका साझा उम्मेदवार नारायण सिलवाल र दीपक निरौलाले अबको पाँच बर्ष आफूहरु जनताको सिपाहीको रुपमा काम गर्न तयार रहेको भन्दै अत्याधिक मतदानले विजयी गराउन अपिल गरे ।
थापा बने ‘कमाण्डर’
नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा काठमाडौँ क्षेत्र नम्बर ५ को चुनावी कमाण्डर बनेका छन् । पार्टीको पर्यटन विभाग प्रमुख समेत रहेका युवा नेता थापाको संयोजकत्वमा ९ सय ५ सदस्यीय प्रतिनिधिसभा निर्वाचन संयोजन समिति बनेको छ ।

समितिको उपसंयोजकमा माओवादी पोलिटव्युरो सदस्य शिव श्रेष्ठ, एमाले नेतृ एवं पूर्वसांसद रत्ना गुरुङ, शान्ति अधिकारी, दीपक केसी र बालकृष्ण श्रेष्ठ रहेका छन् ।

यसैगरी, प्रदेश सभा (क) का लागि एमाले नेता हरि अधिकारीको संयोजकत्वमा ५ सय ५ सदस्यीय समिति बनेको छ । समितिको उपसंयोजक माओवादी नेतृ जमुना बुढाथोकी छिन् ।
यसैगरी, प्रदेश (ख) का लागि माओवादी नेता धर्म डंगोलको संयोजकत्वमा ७ सय ५ सदस्यीय निर्वाचन परिचालन समिति बनेको छ । समितिको उपसंयोजक एमाले काठमाडौँका नेता मणिराज डंगोल रहेका छन् ।

बुद्धिजीविदेखि नायकसम्मको समर्थन
काठमाडौं क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवारहरुको समर्थनमा बुद्धिजीवि, कलाकार र पत्रकारहरु देखिएका छन् ।

योजना आयोगका पूर्वउपाध्यक्ष एवं राष्ट्र बैंकका पूर्वगर्भनर डा. युवराज खतिवडा, अर्थविद् डा. गोविन्द नेपाल, डा. गोविन्द थापा, वरिष्ठ चिकित्सक डा. अरुण सायमी, पूर्वराजदुत उदयराज पाण्डे, नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. महेन्द्र विष्ट, नायक निखिल उप्रेती लगायतले एमाले उम्मेदवारहरुलाई समर्थन गर्न कार्यक्रममा पुगेका थिए । कार्यक्रममा मालेका पोलिटव्युरोसहित सदस्यसहित सयौं एमालेमा प्रवेश गरेका थिए ।















प्रतिक्रिया