लण्डन, २१ कात्तिक । उत्कृष्ट मिडफिल्डर आन्द्रे पिर्लोले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । इटलीका पूर्व अन्तर्राष्ट्रय खेलाडी समेत रहेका पिर्लोले एमएलएस क्लब न्यूयोर्क सिटीका लागि अन्तिम खेल खेलेपछि फुटबल खेल्न छाड्ने घोषणा गरेका हुन् ।
उनको क्लब न्यूयोर्क एमएलएसको सेमिफाइनल प्लेअफमा कोलम्बस क्रुसंग दुई लेगको खेलमा पराजित भएपछि पिर्लोले सन्यास घोषणा गरे ।
३८ वर्षीय पिर्लोले इटलीका लागि ११६ क्याप जितेका थिए भने सन् २००६ मा इटलीले विश्वकप फुटबल जित्दा त्यसका सदस्य थिए ।
ब्रेसियाबाट व्यावसायी फुटबल करियर शुरु गरेका पिर्लोले इटलीका उत्कृष्ट क्लबहरु एसी मिलान, इन्टर मिलान र युभेन्ट्सबाट समेत खेलिसकेका छन् ।
करियरको अन्त्यतिर भने उनले अमेरिकी मेजर सकर लिग रोजे । जहाँबाट उनले आफ्नो खेलाडी करियर अन्त्य गर्न लागेका हुन् ।
‘न्यूयोर्कमा मेरो यात्रा मात्र सकिएको होइन फुटबल खेलाडीको रुपमा समेत मेरो यात्रा समाप्त भएको छ’, पिर्लोले सन्यास घोषणामा भने ।
उनले ट्वीटरमार्फत स्टेटमेन्ट सार्वजनिक गर्दै सम्पूर्ण टिममेटहरूलाई धन्यवाद दिएका छन् ।
खेलाडी करियरमा कूल ८७२ खेल खेल्दा उनले एक पटक विश्वकप, दुई पटक युरोपियन च्याम्पियन्स लिग, ६ पटक सिरी ए तथा २ पटक कोपा इटालियको उपाधि जितेका थिए । – एजेन्सी















प्रतिक्रिया