काठमाडौँ, २० कात्तिक । पूर्वराष्ट्रपति रामवरण यादवको घरभाडा राष्ट्रपतिको कार्यालयले तिरेको थिएन । पूर्वराष्ट्रपति यादवले आफूलाई मासिक कति घरभाडा चाहिन्छ भन्ने नखुलाएपछि कार्यालयले भाडा नतिरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कार्यालयले यादवलाई ‘२ लाख या १ लाख’ घर भाडा लिनुहुन्छ भनी सोध्दा यादवले जवाफ नदिएपछि भाडा तिर्न ढिला भएको राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याल जानकारी दिए । गत माघमा मन्त्रिपरिषद्ले पूर्वराष्ट्रपतिलाई आफ्नै घर नभए २ लाख र घर भए १ लाख रुपैयाँ मासिक भाडा दिने निर्णय गरेको थियो ।
घरभाडा तोकेर लिनेभन्दा पनि जति लाग्छ सबै सरकारले तिरिदेओस् भन्ने पूर्वराष्ट्रपति यादवको चाहना रहेको उनका स्वकीय सचिव किरण पन्थीले बताएका छन् ।
यसैविच, पूर्वराष्ट्रपति यादवले गत साउनदेखि घरबहाल सम्झौता नवीकरण नगरी बसेको भन्दै घरधनी रविभक्त बिष्टले सोमबार सार्वजनिक सूचना निकालेका छन् ।
उनले आफ्नो घर बहाल र बिजुली महसुलसमेत नतिरी जबरजस्ती बस्ने र बसाउने कार्य भइरहेको उल्लेख गर्दै उनले यसअघि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिलाई पटकपटक लिखित सूचना दिए पनि सुनुवाइ नभएको जिकिर गरेका छन् ।















प्रतिक्रिया