सुनसरी, २० कात्तिक । सुनसरीमा ठूला दलकी एक मात्र महिला उमेदवार भगवती चौधरीले पटक पटक मन्त्रि भइसकेका विजय कुमार गच्छदारलाई पराजित गर्ने दावी गरेकी छिन् । चौधरी बामगठवन्धनबाट सुनसरी क्षेत्र नम्वर ३ को उमेदवार हुन् ।
तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदार र एमाले नेतृ चौधरीबीच सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिष्पर्धा हुदैछ । २०४६ साल यता गच्छदार सत्ता भन्दा बाहिर कमैमात्र रहेपनि सुनसरी क्षेत्र नम्वर ३ का लागि उनले भने खासै केहि नगरेकाले जनताले परिवर्तन चाहेको चौधरीको भनाई छ । परिवर्तन विकास र सम्वृद्धिका लागि यहाँका जनताले आफूलाई फराकिलो अन्तरले जिताउने चौधरीले दाबी गरिन् । गच्छेदार अवसरवादी भएको उनको आरोप छ ।
गएको संविधानसभा निर्वाचनका वेला काग्रेसका नेताहरुले नै गच्छदारलाई सो आरोप लगाउदै चुनाव प्रचार गरेको चौधरीले बताइन् । गत संविधानसभा निर्वाचनमा आफू नै बिजयी भएपनि जालझेल गरेर हराइएको चौधरीको आरोप छ । गत संबिधानसभा निर्वाचनमा पनि यी दुईबिच नै प्रतिष्पर्धा भएको थियो । गच्छदारले २० बर्षमा नगरेको काम आफूले पाँच बर्षमै गरेर सुनसरी क्षेत्र नम्वर ३ लाई देशकै नमूना क्षेत्र वनाउने चौधरीले प्रतिवद्धता जनाइन् ।
को हुन् भगवति चौधरी?
भगवति चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य हुन् । उनी पूर्ववनराज्य मन्त्री पनि हुन् । चौधरी राजनीति र समाजसेवामा उत्तिकै परिचित नाम हो । उनी लघुवित्त क्षेत्रमा नेपालमै अग्रणी महिलाको रुपमा चिनिन्छिन् । आफनो समूदायमा त चौधरी रोलमोडलनै मानिन्छिन् । उनको गाँउघरमा छोरीलाई पढन स्कुल नपठाइने समयमा पनि उलने स्नातकोत्तर गरेकी छिन् । उनी स्कुल जान थालेपछि मात्र त्यो ठाँउमा छोरीलाई स्कुल पठाउन थालिएको हो । उनको नेतृत्वमा रहेको फरवार्ड सस्थामा हाल देशभरका हजारौ महिला सँगठित छन । उनले आफनो संस्थामार्फत हजारौ महिलालाई आत्मनिर्भर बनाएकी छिन् । महिलाको आर्थिक सशक्तिकरण नभएसम्म समाज रुपान्तरण हुन नसक्ने चौधरीको दावी छ ।
यस्तो छ भगवति चौधरीको चुनावी एजेण्डा
बेरोजगारलाई रोजगार प्रदान गर्ने चौधरीको मुख्य चुनावी एजेण्डा रहेको छ । उनले एक घर एक रोजगार प्रदान गर्ने योजना सार्वजनिक गरेकी छिन् । सुनसरी क्षेत्र नम्वर ३ मा दुई बर्ष भित्रमा प्राविधिक शिक्षालय स्थापना गर्ने उनको प्रतिवद्धता छ । हरेक वडा वडाबाट डाक्टर, इञ्जिनियर, पाइलटलगायतका प्राविधिकहरु उत्पादन गर्र्ने उनले बताइन् । घर–घरमा पूँजीको पहुच गराउदै आर्थिक स्तर उकास्न विशेष कार्यक्रम सञ्चालन गर्ने चौधरीको योजना छ । सुनसरी क्षेत्र नम्वर ३ का पर्यटकीय स्थलहरुको संरक्षण र विकास गर्दै आन्तरिक र बाह्य पर्यटक भित्राउन उनले विशेष योजना बनाएकी छिन् । गाँउ गाँउका कच्चि सडकलाई कालोपत्रे गर्ने लगायत भगवति चौधरीका चुनावी एजेण्डा रहेका छन् ।











प्रतिक्रिया