इलाम, २० कात्तिक । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम गठबन्धनले मात्र मुलुकको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र अखण्डताको रक्षा गर्ने बताएका छन् ।
इलामको माई नगरपालिकाको नगरस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै खनालले कुनै स्वार्थका लागि नभई राष्ट्रिय हितका लागि बामगठबन्धन गरिएको बताए ।
उनले मुलुकको समृद्धिका लागि वाम गठबन्धनको विकल्प नभएको समेत बताए । ‘भारतले सीमा मिचेको अवस्थामा सीमा रक्षाका लागि लोकतन्त्र जोगाउने एक मात्र शक्ति वामपन्थीहरू भएकाले, आर्थिक रूपान्तरण, नेपाली संस्कृति जोगाउन समान अन्तर्राष्ट्रिय सम्बन्धकालागि वाम गठबन्धन गरिएको हो,’ उनले भने ।
खनालले वाम गठबन्धनको उद्देश्य सर्वोपरि समाजवादको अन्तिम लक्ष्यमा पुग्नका लागि भएकाले वामशक्तिहरूले अब नेपाललाई समृद्धिको शिखरमा पु-याउनेमा विश्वस्त रहेको बताए ।
लोकतान्त्रिक स्थायित्वका लागि गठबन्धनः नेम्वाङ
यस्तै, नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले लोकतान्त्रिक स्थायित्वका लागि वामगठबन्धन गरिएको बताए ।
इलामको माङसेबुङ गाउँपालिकाको चतुरेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि पनि गठबन्धन आवश्यक रहेको विचार व्यक्त गरे ।
‘यो मुलुकको लोकतान्त्रिक विकास र स्थायित्वका लागि गरिएको गठबन्धन हो तर कुनै राजनीतिक दल वा पार्टीको विरुद्धमा होइन,’ उनले भने ।
निर्वाचनपछि देशमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि हुने बताउँदै संविधानको सफल कार्यान्वयनका लागि पनि निर्वाचन आवश्यक रहेको उल्लेख गरे ।
निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गरेर चुनावी सभामा लागेका उनले अबको ५ वर्ष कम्युनिष्ट दलहरूले देशको नेतृत्व र देशको आर्थिक विकास गर्ने बताए । एक साता लामो चुनावी सभामा निस्किएका नेम्वाङले गठबन्धनले यसपटकको निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने दाबी समेत गरे ।











प्रतिक्रिया