कञ्चनपुर, १९ काठमाडौँ । कञ्चनपुर–३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकलाई समर्थन गर्दै नयाँ शक्ति पार्टीका जनकसिंह साउँदले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै, कांग्रेसबाट बागी उठेका प्रेमकुमार बिष्टले पनि लेखकलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
दुईले उम्मेदवारी फिर्ता लिएपछि लेखकलाई चुनावी मैदान सहज भएको छ भने बाम गठबन्धनका बागीले उम्मेदवारी फिर्ता नलिएपछि वाम गठबन्धनमा भने निरासा छाएको छ । बाम गठबन्धनबाट बागी उम्मेदवार दिएका हिरासिंह बिष्ट र कर्णबहादुर चन्दले भने उम्मेदवारी फिर्ता लिएका छैनन् ।
लेखक जस्तो विकाशप्रेमी र राष्ट्रिय छवि बनाएको नेतालाई फेरि केन्द्रमा पुर्याउन आवश्यक भएकाले उनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको नयाँशक्तिका उम्मेदवार र कांग्रेसबाट बागी भएका विष्टले बताए । त्यसैगरि कञ्चनपुर क्षेत्र नम्बर–३ कै प्रदेश ‘क’ बाट प्रदेश सभामा उम्मेदवारी दिएका राप्रपाका पूर्णबहादुर चन्द र प्रदेश ‘ख’ बाट उम्मेदवारी दिएका गजेन्द्रबहादुर चन्दले पनि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई समर्थन गर्दै आइतबार उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यसैगरि कञ्चनपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदबिरुद्व बागी उम्मेदवारी दिएका शिद्घराज भट्ट तथा प्रदेश ‘क’ बाट बलराम पन्त र ‘ख’ बाट तुलाराज शाहले पनि कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर–३ का क्षेत्रिय सभापति गोपाल भट्टले सबै लोकतान्त्रिक गठबन्धनका बागी उम्मेदवारहरुले नेपाली कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेको बताए । उनले भने, ‘अब नेपाली कांग्रेस भित्र कुनै किसिमको द्वन्द र मतभेद छैन । सम्पूर्ण कार्यकर्ता एकढिक्का भएर निर्वाचन प्रचारप्रसारमा खटिने हुदा कञ्चनपुरमा काँग्रेसलाई जित हासिल गर्न सजिलो हुनेछ ।’ राष्ट्रिय छवि बनाएका कांग्रेस उम्मेदवार लेखकले साच्चिकै जनताका पक्षमा विकास गरेकाले यो क्षेत्रमा उनको विकल्पमा कोही नभएको भट्टको दाबी छ ।











प्रतिक्रिया