– सुदीप अधिकारी
बर्दिया, १९ कात्तिक । बर्दियामा एमालेका बागी उम्मेदवारले आफनो उम्मेदवारी फिर्ता लिएका छन् । बाम गठबन्धनको उम्मेदवारप्रति असन्तुष्टि देखाउँदै बागी उम्मेदवारी दिएका खडकबहादुर खड्काले आइतबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
खड्काले क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्यका लागि बागी उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । उनले बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेदवार कबिराम थारुविरुद्ध खड्काले मनोनयन दर्ता गराएका थिए । क्षेत्र नम्बर १ नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको क्षेत्र हो । प्रतिनिधिसभा सदस्यका लागि गौतम यसै क्षेत्रबाट उठेका छन् ।
लामो छलफल र पार्टीको अनुरोध पछि खड्काले सहजरुपमा आफनो उम्मेदवारी फिर्ता लिएको नेकपा एमाले जिल्ला कमिटी सचिब शालिकराम अधिकारीले जानकारी दिए । खड्काले बागी उम्मेदवारी दिएपछि बाम गठबन्धनमा हल्लीखल्ली मच्चिएको थियो । बागी फिर्ता नभएमा बामदेवलाई ठूलो असर पर्ने सबैको आंकलन थियो ।
बागी फिर्तासँगै अब बाम गठबन्धनलाई चुनावमा होमिन सहज भएको पार्टी कार्यकर्ताहरुको भनाई छ । बागी उम्मेदवारी दिएका खड्का स्थानिय तह निर्वाचनलगत्तै खड्काले आफुलाई प्रदेश सभा सदस्यको उम्मेदवारको रुपमा उभ्याउँदै आएका थिए । बासगढी नगरपालिका निवासी खड्का क्षेत्र नं १ का प्रभावशाली युवा नेता मानिन्छन् ।












प्रतिक्रिया