काठमाडौं, १९ कात्तिक । आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि यतिबेला केही जिल्लाहरुको निकै चर्चा चलेको छ । जहाँ शीर्ष नेताहरु चुनावी मैदानमा एकआपसमा आमनेसामने हुँदैछन् । त्यसकारण पनि चुनावको एकमहिना अघिदेखि नै ति जिल्लाहरु निकै चर्चामा छन् ।
आगामी चुनावमा बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनको मुख्य रुपमा भीडन्त हुनेछ । दुवै पक्षले आफ्नो चुनावी कार्यक्रमहरु अघि बढाइसकेका छन् । दुवैले आफूलाई बलियो देखाएर जनतामाझ प्रभाव पार्ने कोशिसमा लागेका छन् । यसकारण पनि आगामी चुनावी माहौल रोचक बन्दैछ ।
शीर्ष नेताहरु नै आमने सामने हुने भएपछि सबैले आगामी चुनावलाई रोचक ढंगले हेरेका हुन् । प्रमुख दलका शक्तिशाली तथा चर्चित नेताहरु लड्ने निर्वाचन क्षेत्रहरू यतिबेला बढि चर्चामा छन् । र त्यसको शिखरमा छन् माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ । स्थानीय तहको चुनावपछि चितवन यतिबेला फेरी तातेको छ । मंसिर २१ गतेको चुनावमा चितवन क्षेत्र नम्बर ३ मा प्रचण्डलाई टक्कर दिनेछन् बनमन्त्री समेत रहेका राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डेले । प्रचण्ड बामगठबन्धनका उम्मेदवार हुन् भने पाण्डेलाई काँग्रेसको साथ छ । पाण्डे यसअघि दोस्रो संविधानसभामा चितवन क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए ।
यस क्षेत्रमा काँग्रेस र राप्रपाको मत बलियो मानिन्छ । एमाले माओवादी गठबन्धनको संयुक्त भोट त्यसलाई टक्कर दिन काफी छ । त्यसैले प्रचण्ड र पाण्डेविचको प्रतिष्पर्धा रोमाञ्चक बन्नेमा दुई तम छैन ।
यता नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ गोरखा क्षेत्र नम्बर २ मा प्रतिष्पर्धा गर्दैछन् । दुबैजना यसअघि सशस्त्र द्वन्द्वदेखि नै एउटै मोर्चा हाक्दै आइरहेको व्यत्ति हुन् । काँग्रेसको समर्थनमा बाबुराम बामगठबन्धनका श्रेष्ठ प्रतिष्पर्धा गर्न उनी तम्सीएका हुन् । भट्टराई यसअघि प्रधानमन्धी भईसकेको छन् भने श्रेष्ठले पनि उप–प्रधानमन्त्रीको जिम्मेवारी सम्हालीसकेका छन् । यी दुईको लागि पनि सहज जित निकाल्नको लागि कठिन हुनेछ । यी दुई नेताको चुनावी प्रतिष्पर्धालाई पनि चारैतिरबाट उत्साहका साथ हेरिएको छ ।
त्यस्तै, काठमाडौँ क्षेत्र नम्बर ५ मा बामगठबन्धनबाट तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र काँग्रेसका नेता डा. प्रकाशसरण महत आमनेसामने हुदैछन् । नेता पोखरेल र महत दुवै प्रभावशाली नेता हुन् । पार्टी भित्र र बाहिर दुवैको प्रभाव शक्तिशाली छ । त्यसकाण पनि यी दुई नेताको बीचमा हुने प्रतिस्पर्धा रोचक हुनेछ । र उत्तिकै चर्चामा पनि रहने विश्वास गरिएको छ ।
यस्तै, काठमाडौँको क्षेत्र नम्बर १ मा कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह र विवेकशी साझाका उम्मेदवार रवीन्द्र मिश्रको विचमा पनि कडा प्रतिष्पर्धा हुँदैछ । यहाँ यि दुई नेतालाई जित आफ्नो पोल्टामा पार्नको लागि निकै कठिन हुनेछ । स्थानीय तहको चुनावमा यो क्षेत्रमा नयाँ दलहरु विवेकशील र साझा पार्टीले राम्रो मत पाएका थिए । मिश्र बीबीसीको जागिर छोडेर राजनितिमा आएकाले पनि उनको चर्चा निकै चलेको छ । तर दुबै संविधानसभाको चुनावमा काँग्रेसले यो क्षेत्रमा जित हात पारेकाले प्रतिष्पर्धा निकै कडा हुने अनुमान गरिएको छ ।
उता, मुलुक भर चुनावी तालमेल गरेर पनि कांग्रेस र राप्रपा झापा क्षेत्र नम्बर ३ मा भने एकअर्को विरुद्ध प्रतिष्पर्धा गर्ने भएका छन् । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन सो क्षेत्रमा आमनेसामने हुनेछन् । यसअघिको दोस्रो संविधान सभाको चुनावमा भएको यीनै दुई नेताको प्रतिष्पर्धामा सिटौलाले थोरै मतले मात्रे जितेकाले अहिले पनि निकै कडा प्रतिष्पर्धा हुने आकलन गरिएको छ ।
धनुषा क्षेत्र नम्बर ३ मा राजपा नेपालले काँग्रेससँग तालमेल गर्न नमाने पछि काँग्रेस नेता विमलेन्द्र निधि र राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोविच कडा प्रतिष्पर्धा हुने भएको छ । धनुषा ३ मा काँग्रेसको राम्रो मत छ भने राजपाले पनि आफ्नो हैसियत राम्रो रहेको दाबि गरेका छ ।
त्यसैगरी, काँग्रेस नेता शेखर कोइराला र एमाले नेता लालबाबु पण्डित पनि आमनेसामने हुने भएका छन् । उता, काठमाडौँ क्षेत्र नम्बर ४ मा कांग्रेस नेता गगन थापा र एमालेका राजन भट्टराईबीच प्रतिष्पर्धा हुँदैछ ।
यसैगरी गुल्मी क्षेत्र नम्बर २ बाट चन्द्र भण्डारी र प्रदीप ज्ञवाली एक आपसमा प्रतिष्पर्धा गर्ने भएका छन् । भने झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनको तर्फबाट पूर्वसञ्चारमन्त्री राम कार्की र लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेस युवा नेता विश्वप्रकाश शर्माबीच कडा प्रतिष्पर्धा हुने देखिको छ । यता, प्रहरीको डिआइजी पद बाट राजीनामा दिएर एमाले प्रवेश गरेका नवराज सिलवाल पनि उत्तिकै चर्चामा छन् । सिलवाल कांग्रेसबाट अर्थराज्य मन्त्री एवं पूर्व सांसद उदयशमशेर राणासँग प्रतिष्पर्धा गर्न तम्सेका छन् ।












प्रतिक्रिया