१५ कार्तिक २०८३, आइतबार

यी हुन् एमालेका रविन्द्र अधिकारीलाई कडा टक्कर दिने उम्मेदवार

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १९ कात्तिक । संविधानसभाका दुवै निर्वाचनमा जितेर विकासप्रेमी छवि बनाइसकेका एमालेका ४९ वर्षीय रवीन्द्र अधिकारी कास्की-२ बाट पुन: प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी राजनीतिबाट संसदीय राजनीतिसम्म पुगेका उनलाई चुनौती दिन कांग्रेसबाट यसपटक त्यही क्याम्पसको प्राध्यापन छाडेर ५७ वर्षीय देवराज चालिसे मैदानमा आएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

जितलाई निरन्तरता दिएर ‘ह्याट्रिक’गर्ने दाउमा रहेका अधिकारीका लागि यो निर्वाचन सोचेजस्तै सहज भने छैन । कास्कीको ३ नम्बर निर्वाचन क्षेत्र अहिले २ मा परेको छ । २०६४ र २०७० को निर्वाचनमा पराजित कांग्रेसले भने यसपटक विजयी हुने तयारीसाथ निर्वाचनमा होमिएको छ ।

यो क्षेत्र २०४८ मा एमालेले तथा २०५१ र २०५६ मा कांग्रेसले जितेको हो । संविधानसभाका लागि भएका दुवै निर्वाचनमा एमालेका अधिकारीले लगातार जित हासिल गरे । पाँचवटा निर्वाचनमा दुईपटक बाहेक एमालेले जित्दै आएको क्षेत्रको इतिहासलाई जोगाउन अहिले वाम गठबन्धन कस्सिएको छ भने त्यसलाई भत्काउन कांग्रेस लागिपरेको छ ।

अहिलेको चुनावमा दुई पार्टीका ‘शक्तिशाली’उम्मेदवार भएकाले मतदाताका लागि पनि चासोको विषय भएको छ । अधिकारीको निरन्तर उम्मेदवारी र स्थानीयस्तरमा केही काम नगरेको र वाम गठबन्धन अधिनायकवाद लाद्ने उद्देश्यले भएको भन्ने मुद्दासहित चालिसेले जितको खाता खोल्ने प्रयासमा छन् ।

उनले अधिकारीलाई दुईपटक चुनाव जितेर पनि निर्वाचन क्षेत्र तथा जिल्लाका लागि केही गर्न नसकेको आरोप लगाए । ‘दुइपटक जिते पनि नियमितबाहेक अतिरिक्त बजेट ल्याउन सकेनन्, रवीन्द्रजीबाट पोखराको कुनै पनि क्षेत्रमा विकास पनि भएन,’चालिसेले भने, ‘मैले जितेको अवस्थामा उनीभन्दा फरक विकासको अनुभूति जनतालाई हुनेछ ।’

चुनावकै लागि छ महिनाअघि पृथ्वीनारायण क्याम्पसको प्राध्यापन पेसाबाट राजीनामा दिएका चालिसे कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।

४० वर्षदेखि पार्टीमा क्रियाशील भए पनि प्रत्यक्ष निर्वाचनमा होमिएको उनका लागि यो पहिलो अनुभव हो । राजनीतिक आन्दोलनका क्रममा उनी पटकपटक गरी २ वर्ष ३ महिना जेल परेका थिए ।

उनका प्रतिस्पर्धी एमाले नेता अधिकारी पनि पृथ्वीनारायण क्याम्पसबाटै विद्यार्थी राजनीतिबाट अघि आएका हुन् । उनी पार्टी नीति, बलियो संगठन, स्थानीयस्तरमा गरेको काम, अब भविष्यमा समृद्धि र विकासमा लाग्ने प्रतिबद्धताका कारण आफू सहज अवस्थामा रहेको दाबी गर्छन् ।

‘मेरो व्यक्तिगत रुची र इच्छाले भन्दा पनि पार्टी र मतदाताको समेत चाहनाले तेस्रो पटकको उम्मेदवारी हो,’ अधिकारीले भने, ‘दुई कार्यकालमा थुप्रै काम गरेको छु । अब पोखरालाई अझै उत्कृष्ट पर्यटकीयस्थलका रूपमा काम गर्ने योजना बनाएको छु ।’

एमाले केन्द्रीय सदस्य रहेका अधिकारी संसद्को विकास समिति सभापति र सार्वजनिक लेखा समितिको सदस्य भइसकेका छन् ।