१५ कार्तिक २०८३, आइतबार

सीतादेवीले छोरालाई उम्मेदवार बनाएपछि कांग्रेसमा बबण्डर

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, १८ कात्तिक । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव र केन्द्रीय सदस्य पदमनारायण चौधरीले आफ्नै छोरालाई आसन्न प्रदेशसभाका लागि उम्मेदवार बनाएका छन्। नेताहरुले ‘पुत्रमोह’ देखाएपछि नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका छन् ।

पूर्व शान्तिमन्त्री समेत भइसकेकी कोषाध्यक्ष यादवले छोरा डा. सुभाषचन्द्र यादवलाई सिरहा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेशसभाका लािग उम्मेदवार बनाएकी हुन् ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

एमडी गरेका छोरा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सिरहा नगरपालिकाको मेयर पदका उम्मेदवार थिए। तर उनी ठूलो मतान्तरले पराजित भएका थिए। प्रदेश सभाका लागि कांग्रेस क्षेत्री सभापति संजयप्रकाश यादव वा जिल्ला सचिव उपेन्द्र यादवले टिकट पाउने चर्चा लगेको थियो। तर, कोषाध्यक्ष यादवले छोराकै नाम दर्ता गराएकी हुन् ।

डा. सुभाष भन्दा पुराना, अनुभवी र लामो योगदान भएका केयौं नेता पार्टीमा रहेपनि कोषाध्यक्ष यादवले पुत्रमोह देखाएको भन्दै आलोचना समेत सुरु भएको छ । केयौं नेता तथा कार्यकर्ता रुष्ट छन् ।

कांग्रेस जिल्ला सचिव उपेन्द्र यादवले केन्द्रीय कोषाध्यक्ष यादवले पावरको हिसाबले छोरालाई उम्मेदवार बनाएको प्रतिक्रिया दिए। उनले भने, ‘राजनीतिमा रिलेसन हेर्नु हुँदैन। तर, पावरको बलमा छोरालाई मेयरको उम्मेदवार पनि बनाइन, निर्वाचन हारेपछि फेरि प्रदेशसभाको उम्मेदवार पनि बनाएकी छिन् ।’

यस्तै कांग्रेस केन्द्रीय सदस्य पदमनारायण चौधरीले आफ्ना छोरा संतोष चौधरीलाई सिरहा निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभाका लागि उम्मेदवार बनाएका छन्। संतोष उम्मेदवार बन्ने चर्चा समेत थिएन्। यस क्षेत्रबाट कांग्रेस नेता महेश चौधरी उम्मेदवार बन्ने व्यापक चर्चा थियो। तर, अन्तिम समयमा आएर सन्तोषलाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक भएको थियो ।

दोस्रो संविधानसभामा सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद समेत रहेका नेता चौधरी पनि ‘पुत्रमोह’ देखाएको भन्दै कैयौं नेताहरु रुष्ट बनेका छन्। चर्चा चलेपनि उम्मेदवार बन्न नपाएका नेता महेश चौधरी भन्छन्, ‘उम्मेदवार बन्न नपाउँदा दुःख त लागेको छ। तर के गर्ने ? पार्टीको निर्णय स्वीकार गरेर जिताउने अभियानमा लाग्छौं ।’

कोषाध्यक्ष यादव र केन्द्रीय सदस्य चौधरी दुबै प्रतिनिधसभाका लागि सामानुपातिक उम्मेदवार बनेका छन्। आफू समानुपातिक उम्मेदबार बनेर छोरालाई प्रदेशसभाको उम्मेदवार बनाएपछि दुबै नेताको आलोचना जताततै भइरहेको छ। उनीहरुले देखाएको ‘पुत्रमोह’ले कांग्रेसको जनमत घट्ने कांग्रेसकै नेताहरु बताउँछन् ।