काठमाडौं, १८ कात्तिक । अनामनगरको गल्ली छिचोल्दै म्युजिक बैंक आइपुगिन् विमला लामा थिङ । प्लास्टिकको बैजनी चप्पल ढोकाबाहिर खोलेर ६७ वर्षीया स्टुडियोभित्र पसिन्-गीत रेकर्ड गराउन । विमला ती गायिका हुन्, जसको सपना १६ पटकसम्म रेडियो नेपालको स्वर परीक्षामा ‘असफल’ हुँदासमेत मरेन । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘मेरो गीत आज रेकर्ड होला त बाबु ? ‘, रेर्कडिङमा व्यस्त कृष्ण पुनलाई कुप्रो ज्यानले नमस्कार टक्र्याउँदै प्रश्न गरिन् । कृष्णको हाउभाउले शुभ बताइरहेको थियो । उनी सोफामा बसिन् । एकछिन सुस्ताइन् अनि घडी हेरिन् । त्यसपछि झोलाबाट सीडीका पोका र कागजका टुक्रा निकालिन् ‘गीत रेकर्ड गराउन पैसा कहाँबाट ल्याउनुहुन्छ नि आमा ? ‘ कृष्णले विमलालाई सोधे । उनले पुलुक्क हेरिन् । एकछिन चुपचाप बसिन् । ‘महिनाको एक हजार एकल महिलाको भत्ता आउँछ । त्यही जम्मा गरेर रेकर्ड गर्छु’, विमलाको भनाइ मार्मिक थियो । उनको भनाइले स्टुडियोमा सन्नाटा छायो । उनी भने गीतका पानाहरू मिलाउन व्यस्त थिइन् ।
प्रकाशोन्मुख एल्बम ‘जीवन भोगाइ’ को कभरबारे विमलाले सोधपुछ गरिन् । विमला बाँचिरहेको यो उमेरमा कोही आँगनको डिलमा बसेर नाति/नातिनी खेलाउँदै होलान् । कोही कौसीमा बुढेसकाल गन्दै होलान् । कोही वृद्धा श्रममा बसेर अन्तिमपटक सन्तानको मुख हेर्न पदचाप पर्खिरहेका पनि होलान्। उनी भने राजधानीका रेकर्डिङ स्टुडियो धाइरहेकी छन् ।
२००७ सालमा नुवाकोट पञ्चकन्या चौताराडाँडामा जन्मिएकी विमलाको पहिलो बिहे सात वर्षको छँदा भयो । बुबा, श्रीमान् लामा राणाकालमा दरबारका सामान्य जागिरे थिए । बालखैमा आमा बुधमाया लामाले उनलाई महाराजगन्ज ल्याइन् । ७ वर्ष पुग्दानपुग्दै उनको बिहे गरिदिने कुरा चल्यो । ‘खेतको आली-आली भागेँ । आमाले पछिपछि लखेट्दै आउनुभयो । खर्पन बोक्ने ज्यापुले समाइदियो । त्यसपछि भाग्न सकिनँ’, उनले भनिन् ।
बिहे गरेर जानुपर्ने भन्दा आमासँग छुट्नुपर्ने पीडाले उनलाई पोल्यो । तर, उनको जोड चलेन । रानीवन छेउमा नयाँ बुहारी बनेर भित्रिन्, उनी । ११ वर्षका थिए उनका पति । पति-पत्नीको साइनोसँग दुवै अपरिचित । दुवैजना धुलो माटोमा सँगै खेले । रानीवनमा घाँस-दाउरा काट्न गए। दाउराको भारी बोकेर उठ्न नसक्दा उनले धकेलिदिएको सम्झना ताजै छ ।












प्रतिक्रिया