काठमाडौं, १८ कात्तिक । रेट्रोफिटिङ गरेर जोगाउन सकिने बागदबार भत्काउने काठमाडौं महानगरपालिकाको निर्णयको सर्वत्र आलोचना भएको छ ।
अमरसिंह थापाकालीन यो दबार मास्नुको साटो जोगाएर यहाँ पर्यटकीय गन्तव्य बनाउन सम्पदाप्रेमी, संस्कृतिविद् लगायतले आग्रह गरेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘बागदबार मात्रै होइन, कुनै पनि राणाकालीन दरबार मास्न पाइदैन । मास्नै लागेको सिंहदरबार समेत हामीले जोगायौं,’ सम्पदा अभियन्ता रविन्द्र पुरिले भने, ‘बागदबार भत्काउनु पर्ने कुनै कारण छैन । यसलाई सवलीकरण गरेर जोगाउनु पर्छ ।’ बागदरमा भन्दा कैंयो गुणा जीर्ण घर समेत मर्मत गरेर आकर्षक बनाएको पुरीले बताए ।
‘हामीले सवलीकरण गरेर राम्रा बनाएका घरका नमुना हामी महानगरलाई देखाइदिन सक्छौं,’ पुरीले भने, ‘हामीले जोगाएका भवन देखेर महानगरलाई पनि संरक्षण गर्नु पर्छ भन्ने भाव जागोस् । इतिहास, सम्पदा, संस्कृति जोगाउने हो, मास्ने होइन ।’
अमरसिंह थापाले बनाएको ऐतिहासिक बागदबार काठमाडौं महानगरपालिकाको प्रथम नगर परिषदले मास्ने निर्णय गरेको थियो । भीमसेन थापाका बुबा अमरसिंह थापाले बनाएको बागदरबार भुईचालोले क्षति पुर्याएको भन्दै महानगरले दुई वर्ष पहिला भत्काउने योजना बनाएको थियो । तर पुरातत्व विभागले रेट्रोफिट गरेर यसलाई जोगाउने सक्ने भन्दै भत्काउन दिएको थिएन । महानगरमा विद्यासुन्दर शाक्य मेयर हुनासाथ बागदरबार भत्काउने अभिव्यक्ति दिंदै आएका थिए ।
बागदरबार भत्काउन लागेको समाचार सार्वजनिक भएपछि महानगर प्रमुख शाक्यले पत्रकार सम्मेलन गरी बागदरबार नभइ हरिदबार भत्काउन लागेको भन्दै नामै परिवर्तन गरिदिए । ‘जसरी पनि भत्काउन रातारात नामै फेरेछन् मेयरले,’ असनका रत्न श्रेष्ठले भने, ‘जसरी पनि मास्न अव सय वर्ष पुगेकै हैन प्रमाणित गराउन खौज्दैछन् ।’
अमरसिंह थापाको पालामा बनेको बागदरबार मासिएको मेयर शाक्यले दाबी गरे । ‘वाघदरबार यहीं थियो,’ उनले भने, ‘तर पछि बाघदबार मासेर जुद्ध शमशेरका छोरा हरिशम्शेरले नयाँ दरबार बनाए । त्यही भएर यो दरबार हरिदबार हो ।’ उनले यो दरबार १९९० सालको भुइचालो पछि बनेको तथ्य पनि पेश गरे ।
‘हालको भवन १९९० सालको भुकम्प पश्चात पुरानो दरबार भएको जगमा नभइ नयाँ स्थानमा निर्माण भएको, यो परम्परागत बागदरबार नभइ बागदरबारभित्र रहेको हरि भवन भएको र यो भवन पुरातात्विक भवन होइन,’ मेयर शाक्य भन्छन्, ‘किनभने यसमा प्रयोग भएका इटाहरुमा श्री ३ जुद्ध १९९१, श्री ३ जुद्ध १९९० लेखिएकोले यो भवन १९९० पछि नै बनेको हो प्रमाण रहेको छ । परम्परागत दबार र हालको भवन एकै नभइ फरक फरक भएको तथ्य झल्कने फोटाहरु समेत परामर्शदाताले पेश गरेको प्रतिवेदनमा छ ।’
महानगरले भवनको भुइगलको केही भाग इटा झिकेर अध्ययन गरेको थियो । पुरातत्व विभागले भने सय वर्ष ननाघे पनि राष्ट्रिय र अन्तराष्ट्रिय महत्वको दरबार जोगाउनु पुरातत्व विभागको दायित्व भित्र पर्ने जनाउँदै आएको छ । ‘सय वर्ष ननाघेका भए पनि ऐतिहासिक दरबार जोगाउनु पर्ने दायित्व पुरातत्व विभागको हो,’ विभागका प्रमुख संरक्षण अधिकृत दामोदर गौतम भन्छन्, ‘त्यही पनि यो प्राचीन दरबार हो ।’
‘बागदरबार भए पनि हरिदरबार भए पनि के फरक पर्छ ? यो राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा महत्वपूर्ण दरबार भएकाले जोगाउनु पर्ने पुरातत्व विभागले भनेको छ नि,’ श्रेष्ठ भन्छन्, ‘यसलाई जसरी पनि भत्काउनु पर्छ भन्ने दम्भ महानगरले सोचोस । राणकालकै भए पनि वास्तुकला जोगाउनु पर्छ । कालो इतिहास पनि भावी पुस्ताले थाहा पाउनु पर्छ ।’












प्रतिक्रिया