काठमाडौं, १६ कात्तिक । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रमुख दलहरुले बुधबार नै उम्मेदवार टुंगो लगाइसकेका छन् । प्रमुख दलका शीर्ष नेताहरुको निर्वाचन क्षेत्र पनि टुंगो लागिसकेको छ ।
संवैधानिक व्यवस्थाअनुसार योपटक एक उम्मेदवार एक निर्वाचन क्षेत्र रहनेछ । जसकारण शीर्ष नेताले यसअघि दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिए पनि यस पटक एकमात्र निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवारी दिँदैछन् । वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट उम्मेदवारी दर्ता गर्दैछन् । महामन्त्री डा.शशांक कोइराला नवलपुरको बर्दघाटबाट उम्मेदवारी दर्ता गर्दैछन् ।
पूर्व महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्ण सिटौलाले क्रमश काठमाडौं १ र झापा ३ बाट उम्मेदवारी दिँदैछन् ।
एमाले अध्यक्ष केपी ओलीले झापा ५ बाट मनोनयन दर्ता गर्नेछन् । वरिष्ठ नेता झलनाथ खनाल इलाम १, माधवकुमार नेपाल काठमाडौं २ बाट उम्मेदवारी दर्ता गर्दैछन् । उपाध्यक्ष बामदेव गौतम बर्दिया १, भीम रावल अछाम १ बाट मनोनयन दर्ता गर्दैछन् । पूर्वसभामुख सुवास नेम्वाङ इलाम २, महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवारी दर्ता गर्दैछन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३, नेता कृष्णबहादुर महरा दाङ २, गिरिराजमणि पोखरेल महोत्तरी १, पम्फा भुसाल ललितपुर ३ बाट मनोनयन दर्ता गर्दैछन् ।
माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पहिलो चरणमा निर्वाचन हुने गोरखा २ बाट उम्मेदवार भइसकेका छन् ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट मनोनयन दर्ता गर्दैछन् । राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर प्रदेशसभातर्फ प्रतिस्पर्धा गर्दैछन् । धनुषा ३ बाट राजपाका राजेन्द्र महतो र कांग्रेसका विमलेन्द्र निधिको प्रतिस्पर्धा हुनेछ ।












प्रतिक्रिया