बझाङ, १५ कात्तिक । बझाङबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागी चुनावी मैदानमा उत्रेका सबै उम्मेदवारहरुले बहुप्रतिक्षित चैनपुर ताक्लाकोट सडकलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।
रेडियो र पत्रपत्रिकामा दिने अन्तर्वार्ता देखी लिएर आमसभालाई सम्बोधन गर्ने क्रममा पनि नेताहरुले आफूले जितेमा आफ्नै कार्यकाल भित्रै चैनपुर ताक्लाकोट सडक निमार्ण गर्ने आश्वासन दिन थालेका हुन ।
यो चिन र भारतलाई सबै भन्दा नजिकको दुरीबाट जोड्ने त्रिदेशिय सडक मार्ग हो । मुख्य चुनावी एजेन्डाको रुपमा ताक्लाकोट सडक निमार्णलाई अघि सारेका मुख्य प्रतिश्पर्धी दलहरुले सडकको यस अघि भएको बजेट विनियोजन पनि आआफ्नो दलले गरेको भन्दै त्यसको जस आफ्नो पार्टीलाई दिनु पर्ने जिकिर गरिरहेका छन ।
‘हाम्रै पार्टीका रमेश लेखक यातायात मन्त्री भएको बेला ताक्लाकोट सडकको लागी ८० करोडको टेन्डर भएको हो’ नेपाली काङग्रेसका तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार रहेका पृथ्वीबहादुर सिंहले भने ‘बझाङी जनताले मलाई जिताए भने मेरै कार्यकालमा चैनपुरबाट तिब्बत सम्म गाडी गुडाएर छोड्ने छु’ उनले ताक्लाकोट सडक निमार्णको कार्य सम्पन्न भए पछि बझाङी जनताका दुःखका दिन पनि समाप्त हुने र त्यो काम आफु र आफ्नो दलले मात्र गर्न सक्ने जिकिर गरे ।
यता सरकारको कुनै प्राथमिकतामा नै नपरेको ताक्लाकोट सडकलाई आफ्नो पार्टीको सरकारले महत्व दिएकोले यसको जस एमालेलाई दिनु पर्ने बामगठबन्धनका तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार भैरब बहादुर सिंहको दाबी छ । ‘प्रधान मन्त्री केपी ओली, अर्थ मन्त्री विण्णु पौडेल र अर्थ राज्य मन्त्री दामोदर भण्डारी रहेको बेला हामीले यो सडकलाई राष्ट्रिय प्राथमिकतामा राख्न दवाब दिएका थियौ’ उनले भने ‘बर्षाै देखी निमार्णको काम सुस्त रहेको यस सडकमा त्यही सरकारले ४० करोड विनियोजन गरेको थियो । पछिका सरकारले यसलाई निरन्तरता मात्र दिएका हुन’
उनले आफ्नो दलको सरकारले नै ताक्लाकोट सडक निमार्णको काम सुरुवात गरेकोले आफुले जितेमा मात्र निमार्ण कार्य छिटो पुरा हुने दावी गरे । सडक निमार्ण पश्चात बझाङ मात्र नभएर सिंगो प्रदेश नं ७ मा नै अकल्पनिय ढंगले पर्यटकहरुको चहलपहल बढ्ने र यसले सिंगो प्रदेशको समृद्धीको काम गर्ने उनको भनाई छ ।
यस्तै प्रदेश सभामा प्रतिश्पर्धा गरिरहेका उम्मेदवारहरुले पनि बझाङीहरुको अन्तराष्ट्रिय सडकको सपना पुरा गर्नका लागी आफुहरुले ताक्लाकोट सडकलाई नै प्रमुख एजेन्डा बनाएको बताए । ‘म सभासद र सांसद हुदा पनि यो सडकमा रकम विनियोजन हुनु पर्छ भनेर धेरै पटक मन्त्रालयमा धाएकी छु’ नेपाली कांग्रेसबाट प्रदेश क की उम्मेदवार चन्द्रा जोशीले भनिन ‘मैले जितेमा मेरो मुख्यकाम भनेको पनि यो सडकको निमार्ण पुरा गर्नु नै हुनेछ’
ताक्लाकोट सडक खुलेमा त्रि देशिय व्यापारको ठुलो ढोका खुल्ने र यसले व्यापार, पर्यटन लगायतका विभिन्न क्षेत्रमा ठुलै हलचल ल्याउने भएकोले आफुले पनि यो सडक निमार्ण गर्ने कुरालाई नै प्रमुख एजेन्डा बनाएको एमालेको तर्फबाट प्रदेश क का उम्मेदवार अर्जुन थापाले बताए । उनले भने ‘अरु थुप्रै काम गर्नु पर्ने छ । तर जनताले पत्याए भने मेरो कार्यकाल भित्र यो सडकमा गाडी गुडाएर देखाउने सपना छ’
बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मुख्य प्रतिश्पर्धा रहेको यस जिल्लामा अन्य साना दलहरुले पनि ताक्लाकोट सडकलाई नै मुख्य एजेन्डाको रुपमा उठाएका छन । अहिले चैनपुर देखी रुवातोला सम्मको १८ किलोमिटर सडकलाई चौडा बनाउने र रुवातोला देखी धुली सम्मको ३२ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्ने काम भैरहेको छ । प्रदेश नं ७ कै गौरबको रुपमा रहेको यस सडकको काम सुस्त गतिमा भैरहेको बारे प्रदेश तथा जिल्ला स्तरका विभिन्न मंचहरुमा कुरा उठ्ने गरेको छ ।
२०४७ साल देखी नै बहसमा आएको यो सडक निमार्णको कुरा पछिल्लो समयमा प्राय सबै राजनैतिक दलको भाषणको मुख्य विषबस्तु बन्ने गरकोे छन । यो सडक खुलेमा हिन्दु बौद्ध र बोन्बो धर्मावलम्बीको प्रशिद्ध तिर्थ स्थल कैलास मानसरोबर दर्शनका लागी भारतिय पर्यटकको ओइरो लाग्ने र तिब्बत संगको व्यापारका सम्भावना हरु खुल्ने यहांका जनताको आसाको छ । भारतका विभिन्न राज्यहरुले कैलास दर्शन गर्न जाने भारतियहरुलाई आर्कर्षक अनुदानको व्यवस्था समेत गरका छन् ।













प्रतिक्रिया