धनगढी, १५ कात्तिक । नेकपा एमाले प्रदेश नं. ७ ले निबर्तमान सांसद मोहनसिंह राठौरलाई कारबाही गरेको छ । कैलाली क्षेत्र नं. २ बाट दोस्रो संविधान सभाबाट निर्वाचित सांसद राठौरले पार्टीहीत विपरित कार्य गर्दै आएको भन्दै नेकपा एमाले प्रदेश नं. ७ ले उनलाई साधारण सदस्य नरहने गरी कारबाही गरेको हो ।
राठौर एमालेबाट दुई पटक गाउँविकास समिति अध्यक्ष, दुई पटक जिल्ला विकास समितिको उम्मेदवार, दुई पटक संसदको उम्मेदवार, एक पटक संस्दमा विजयी भएका थिए । उनी एमालेबाट व्यवस्थापिका संसदको सभापति र पूर्व शिक्षा राज्यमन्त्री समेत भएका थिए ।
राठौर अरु कसैले अवसर पाउनु नहुने अलोकतान्त्रिक र सामन्ती सोचबाट ग्रसित भएका व्यक्ति भएको नेकपा एमाले प्रदेश नं. ७ प्रदेश संगठन कमिटीका संयोजक भीम रावलद्धारा जारी विज्ञप्तिमा भनिएको छ । राठौरलाई स्थानीय निर्वाचनमा समेत नेकपा एमालेका उम्मेदवारहरुलाई हराउने भूमिका खेलेको आरोप लागेको थियो । एमाले उम्मेदवारलाई खुलेर हराउन लागेको भन्दै राठौरलाई कारवाही हुनुपर्ने जिल्ला कमिटीले निर्णय यस अघि नै गरिसकेको थियो ।
राठौर अवसरवादी व्यक्ति भएकोले नेकपा एमाले र बामपन्थीदलका विरुद्ध कुप्रचार गर्नेको व्यक्तिको भ्रममा नपरी निर्वाचन क्षेत्र नं. २ मा एमाले र माओवादी केन्द्रका साझा उम्मेदवारलाई विजयी गराउन जनसमुदाय समक्ष विज्ञप्तिमार्फत अपील गरिएको छ ।
राठौर एकदिन अघि मात्रै काँग्रेस प्रवेश गरेका व्यक्ति हुन् । उनलाई क्षेत्र नं. २ बाट काँग्रेसले प्रतिनिधिसभाको उम्मेदवार बनाउने भएपछि स्थानीय कार्यकर्ताहरु रुष्ट बनेका छन् ।











प्रतिक्रिया