– कृष्ण केसी
लमजुङ, १४ कात्तिक । स्थानीय निर्वाचनलाई हेर्दा समग्र जिल्लामा वामगठबन्धन २ हजार ३ सय मतले अगाडी देखिएको छ ।
स्थानीय तह चुनावमा बाम गठबन्धनका प्रमुख तथा अध्यक्षले ३४ हजार ६ सय १३ र कांग्रेसका प्रमुख तथा अध्यक्षले ३२ हजार ३ सय ३४ मत प्राप्त गरेकोले २ हजार २ सय ७९ मतले बाम गठबन्धन अगाडि रहेको हो ।
त्यस्तै वामगठबन्धनका उपप्रमुख तथा उपाध्यक्षले ३३ हजार ३ सय ३९ मत र काग्रेसका उपप्रमुख तथा उपाध्यक्षले ३० हजार ९ सय ४० मत प्राप्त गरेकोमा उनीहरुको मतलाई आधार मान्ने हो भने २ हजार ३ सय ९९ मतले बाम गठबन्धन अगाडि देखिएको छ ।
जिल्लाका ८ स्थानीय तहमध्ये साविक क्षेत्र नं. १ (हाल प्रदेश सभा क) मा ३ गाउँपालिका र १ नगरपालिका पर्छ । साविक क्षेत्र नं. २ (साविक प्रदेश सभा ख) मा ३ नगरपालिका र १ गाउँपालिका पर्छ । हाल प्रदेश सभा (ख) को बेंसीसहर नगरपालिका १० र ११ वडा अहिले प्रदेश (क) मा पर्छ । स्थानीय तहमा कांग्रेस वडाअध्यक्षले २ हजार १ सय ३६ र गठबन्धन उम्मेदवारले १ हजार ९ सय १२ भोट पाएका थिए । यसबाट प्रदेश (क) मा एमाले–माओवादी केन्द्रले १६ हजार २ सय ६१ र कांग्रेसले १५ हजार ७ सय ९३ मत पाएका थिए । यो कांग्रेसको भन्दा ४ सय ६८ ले बढी हो ।
प्रदेश (ख) मा एमाले–माओवादी केन्द्रले १८ हजार ३ सय ३४ र कांग्रेसले १६ हजार ५ सय ४१ मत ल्याएका थिए । यो कांग्रेसको भन्दा १ हजार ७ सय ९३ मतले बढी हो । यसमा कांग्रेसबाट असन्तुष्ट द्धारिकाप्रसाद मिश्रले सुन्दरबजार नगरपालिका प्रमुखमा २ हजार ७ सय ३० मत प्राप्त गरेका थिए । यसलाई कांग्रेसको भोट मान्ने हो भने १९ हजार २ सय ७१ हुन्छ । यो एमाले–माओवादीको भन्दा ९ सय ३७ मतले बढी हो । तर, मिश्र अहिले पनि प्रतिनिधि सभा सदस्यका लागि उठेका छन् । उक्त समूहबाट प्रदेश (ख) मा उत्तम गुरुङ उठेका छन् ।
मस्र्याङ्दी गाउँपालिकामा कांग्रेस र राप्रपाको गठबन्धन थियो । दुवै उम्मेदवार एमाले–माओवादी केन्द्र गठबन्धनसंग पराजित भएको थियो । कांग्रेस–राप्रपा गठबन्धनबाट उपाध्यक्षका उम्मेदवारले ल्याएको २ हजार ७ सय ८८ मतबाहेक प्रदेश (क) मा राप्रपाले ३ सय ३२ मत ल्याएको थियो । प्रदेश (ख) मा ९ सय ४४ मत (प्रमुखका प्रत्यासीले ४४ मत र उपप्रमुखका प्रत्यासीले ५ सय ३४ मत ल्याएकोमा उपप्रमुखको गणना गरिएको) ल्याएको थियो । प्रदेश (क) मा नयाँ शक्तिले ३ सय ५९ र (ख) मा १ सय २ मत ल्याएको थियो । प्रदेश (क) मा संघीय समाजवादी फोरमले १ सय ७ मत ल्याएको थियो । अहिले लोकतान्त्रिक गठबन्धनमा कांग्रेसलाई राप्रपाले साथ दिएको छ ।
यता, वामगठबन्धनका दल नेकपा एमाले र नेकपा माओवादीले स्थानीय निर्वाचनमा हतारमा राम्रो गठबन्धन बन्न नसकेकोले सबै मत जोगाउन नसकिएकोले कम फरक देखिए पनि अहिले बनेको कसिलो गठबन्धनले निर्वाचनमा स्थानीय निर्वाचनको भन्दा काँग्रेससंग तेब्बर मत फरक पर्ने बताउदै आएका छन् ।
राप्रपाको भोट र कांग्रेसबाट असुन्तष्ट स्वतन्त्र उम्मेदवारी दिएका समूहको भोटकेन्द्रीत गर्दै कांग्रेसले अभियान थालेको छ । कांग्रेसको प्रयास सफल भए यसले बाम गठबन्धनलाई अप्ठ्यारो पार्नेछ । स्थानीय तह चुनावमा स्वतन्त्र समूहलाई माया गर्ने कृष्णप्रसाद कोइरालालाई अहिले टिकट दिएको कांग्रेसबृत्तमा चर्चा छ । स्वतन्त्र समूहका मिश्रले चुनावी प्रचारप्रसार अघि बढाएपनि कांग्रेसले उसलाई अप्रत्यक्ष फकाउने–धम्क्याउने प्रयास गरेका छन् । स्वतन्त्र समूहले प्रतिनिधि सभाका उम्मेदवारलाई पनि असर पार्ने भन्दै स्वतन्त्र समूहविरुद्ध कांग्रेस आक्रमक शैलीमा उत्रिएको छ ।












प्रतिक्रिया