२९ आश्विन २०८३, बिहिबार

नेप्से निरन्तर ओरालो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-stockकाठमाडौँ, २९ कात्तिक । गत साता १६.३८ अङ्कले घटेर अन्तिम दिन ९०४.९२ अङ्कमा पुगेको नेप्से परिसूचक यो साता पनि ओरालो लागेको छ । यो साता पहिलो दिनको तुलनामा १४.३७ अङ्कले घटेको नेप्से अन्तिम दिन ८८१.०४ अङ्कमा पुगेको हो ।

साउनको अन्तिम साताबाट ओरालो लाग्न थालेको सेयर बजार तल झर्ने क्रम रोकिएको छैन । लगानीकर्ता तथा शेयर दलालले राजनीतिक अन्योल र सिडियस एन्ड क्लेरिङका कारणले लगानीकर्तामा निरासा आएको बताएका छन् ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीको १० हजार ८९९ कारोबारबाट रु एक अर्ब १८ करोड ३० लाख ८१ हजार बराबरका २९ लाख ३७ हजार १९० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ९.५६ प्रतिशत बढी हो ।

गत साता १६२ कम्पनीको कारोबारको १० हजार १० कारोबारबाट रु एक अर्ब आठ करोड सात लाख २८ हजार बराबरका २४ लाख ९३० कित्ता सेयरहरू खरिद बिक्री भएका थिए । नेप्सेमा यो साता उत्पादनमूलक समूहको परिसूचकमा १५.१५ अङ्कले सुधार भए पनि अरू समूहमा खास सुधार देखिएन ।

व्यापार समूहमा कुनै परिवर्तन देखिएन भने होटल समूहको परिसूचकमा ०.२१ को झिनो सुधार आएको छ । त्यसैगरी यो साता जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ८१.८३ अङ्कले ओरालो लागेको छ ।

केही समय अगाडि ह्वात्तै माथि उक्लिएको बिमा समूहको परिसूचकमा यो साता पनि ७१.२२ अङ्कको गिरावट आएको छ । गत साता यो समूहमा १३१.९८ अङ्कले गिरावट आएको थियो ।

त्यसैगरी बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको वाणिज्य बैंक र विकास बैंकको परिसूचकमा पनि क्रमशः १२.५९ र ८.६५ अङ्कको गिरावट आएको नेप्सेले उल्लेख गरेको छ । उता वित्त समूहको परिसूचकमा ४.४ अङ्कले र अन्य समूहको परिसूचकमा १०.५७ अङ्कको गिरावट आएको छ ।

यो साता ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ् इन्डेक्स पहिलो दिनको तुलनामा ३.१५ अङ्कले घटेर १८७.७४ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा माछापुच्छ्रे बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ लगानी वृद्धि योजना अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याका आधारमा लुम्बिनी जनरल इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन । रासस