
काठमाडौं, १४ कात्तिक । ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आायोजना हुने नेपालगन्ज म्याराथन २०१७ को तयारी तिब्र पारिएको छ । नेपालगन्ज म्याराथनको यो तेस्रो संस्करण हो ।
दश वर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगन्ज म्याराथन आयोजना गरिदैआएको छ ।
आयोजक क्रियटिभ ह्याण्ड्सले सोमवार पत्रकार सम्मेलन गरी नेपालगन्ज म्याराथनको तेस्रो संस्करण भव्य गराउन व्यवस्थापन चुस्त र पुरस्कार राशीमा बृद्धि गरिएको जानकारी गराएको छ । पुरुष खुल्लातर्फ विजेताले ५५ हजार नगद पाउनेछ ।
गत बर्ष विजेतालाई ५० हजार नगदले पुरस्कृत गरिएको थियो । त्यसैगरी दोस्रोले २५ हजार, तेस्रोले १५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खुल्ला म्याराथनतर्फ शीर्ष आठ जनालाई पुरस्कृत गर्ने क्रममा चौथो स्थान हासिल गर्नेले दश हजार, पाँचौंले ८ हजार, छैठौंले सात हजार, सातौंले छ हजार र आठौंले पाँच हजार नगद पाउनेछन् ।
नेपालगन्ज रंगशालादेखि सुरु भइ कोहलपुर चौराहदेखि आठ सय मिटर उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः रंगशालामा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीका जिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भाग लिदैआएका छन् । गत बर्ष नेपाली सेनाका कृष्ण बस्नेत विजेता बनेका थिए ।
त्यसैगरी महिला खुल्ला हाफ म्याराथनमा विजेतालाई ३० हजार, द्धितीयले १५ हजार र तृतीयले १० हजार पाउनेछ । हाफ म्याराथनमा शीर्ष छ जना नगदबाट पुरस्कृत हुनेछन् । त्यसमा चौथो स्थान हात पार्नेले सात हजार, पाँचौंले छ हजार र छैठौंले पाँच हजार पाउनेछन् । कान्छीमाया कोजु दोस्रो संस्करण २०१६ की विजेता हुन् ।
त्यस्तै विद्यालयस्तरीय पाँच किलोमिटर छात्र एवं छात्रा दौड पनि समावेश गरिएको छ । यसमा पनि नगद पुरस्कार व्यवस्था गरिएको कार्यक्रम संयोजक विक्रमजंग थापाले जानकारी दिए । अपाङगता भएका व्यक्तिहरुका लागि खुला एक किलोमिटर ट्राइसाइकल दौडमा पनि नगद पुरस्कार राखिएको छ । त्यस्तै, म्याराथनलाई भब्य बनाउन गत बर्षदेखि सुरु गरिएको विद्यालयस्तरीय एकल नृत्य प्रतियोगितालाई पनि निरन्तरता दिइएको छ ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले आसन्न आठौं राष्ट्रिय खेलकुदलाई पनि टेवा पुग्ने भएकाले यस म्याराथनको भब्यता र सफलतासँग समग्र खेलकुद जोडिने भएकाले सबैलाई सहकार्य र सहयोग गर्न आग्रह गरे ।
नेपालगन्ज म्याराथनलाई ब्राइटल्याण्ड स्कुलले मुख्य साझेदारी गर्दै आएको छ । नेपालगन्ज म्याराथनलाई निरन्तर सहकार्य गर्ने ब्राइटल्याण्ड स्कुलका ले बताए ।
नेपालगन्जको चिनारीका रुपमा विस्तार हुँदै गएको म्याराथनलाई व्यक्तिगत र संस्थागत सहयोग गर्ने सांसद साविया प्रवीणले बताइन् ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद प्रशिक्षण केन्द्रका निर्देशक जयन्तकुमार शर्माले प्राविधिक रुपले कुनै कसर नराख्ने बताए । नेपालगन्ज म्याराथनलाई बर्षेनी स्तरीय बनाउदै राष्ट्रियस्तरको भव्य प्रतियोगिताका रुपमा स्थापित गर्ने आयोजक टिमको परिकल्पना रहेको आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले बताए ।















प्रतिक्रिया