– कृष्ण केसी
लमजुङ, १३ कात्तिक । संयुक्त वाम गठबन्धनबाट लमजुङको क्षेत्र नम्बर १ मा प्रदेशसभाका लागि उम्मेद्वार बन्नुभएका नेकपा एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडीले आफ्नो जन्मभूमिको माटोलाई छोएर निर्वाचन अभियान शुरु गर्नुभएको छ ।
साविकको विचौर गाविस–३ हाल दुधपोखरी गाउँपालिका–२ स्थित आफ्नो जन्मथलो विचौरबाट दवाडीले चुनावी अभियान शुरु गर्नुभएको हो । उहाँले विचौरबाट अभियान थालनी गर्दा आफन्त, स्थानीयबासी र सिंगो दुधपोखरीबासीले खुशी हुँदै उहाँलाई स्वागत गरेका थिए ।
प्रदेशसभाका उम्मेद्वार दवाडीले आफ्नो गाउँमा पाएको मायाबाट आफू भावुक भएको देश र समाजको लागि केही गर्ने ऊर्जा पनि थपिएको बताउनुभयो ।
जिल्लाको तत्कालीन विचौर गाविस वडा नम्बर ३ र अहिलेको दूधपोखरी गाउँपालिका वडा नम्बर २ विचौरमा वि.सं. २०२४ साल माघ १७ गते पिता हरिदत्त दवाडी र माता दुर्गादेवी दवाडीको कोखमा जन्मिनुभएका धनञ्जयका एक दाइ, तीन दिदी र एक बहिनी रहेका छन् । सामान्य किसान परिवारमा जन्मनुभएका दवाडीको बाल्यकाल लमजुङको विचौरमा नै बितेको हो । अभियानको थालनी गर्न आफ्नै गाउँ पुग्नुभएका दवाडीले भन्नुभयो ‘मैले अठोट पनि गरेको छु, गाउँ, मेरो निर्वाचन क्षेत्र र समग्र जिल्लाको समृद्धि र विकासका लागि मैले अझै धेरै गर्नु छ । आउनुहोस् फेरि एकपटक सबै मिलेर अग्रसर बनाँै ।’ गाउँबाट अभियान थालनी गर्नुभएका दवाडीले अझै धेरै जनासंँग भेटघाट बाँकी रहेकोले अर्को चरणमा चुनावी कार्यक्रमसहित भेटघाट गर्ने बताउनु भएको छ ।
आफ्नै गाउँमा पुग्दा उहाँको अभियानमा निर्वाचन परिचालन कमिटीको संयोजक राजकुमार विष्ट, जिल्ला कमिटी सदस्य खड्कबहादुर गुरूङ, मस्र्याङ्दी बहुमुखी क्याम्पसका स्ववियु सभापति देवेन्द्र गुरूङलगायतका नेता तथा कार्यकर्ता र स्थानीयबासीको उपस्थिति रहेको थियो ।
विचौरमा रहेको वागीश्वरी माध्यमिक विद्यालयबाट वि.सं. २०४२ सालमा एस्एल्सी उतीर्ण गर्नुभएका दवाडीले बाल्यकालदेखि नै कम्युनिस्ट राजनीतिमा झुकाव राख्नुभएको थियो । जनमत संङ्ग्रहपछि वि.सं. २०३८ सालमा विद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुनुभएको थियो ।
लमजुङमा कम्युनिस्टको उद्गमस्थल मानिने विचौरको राजनीतिक वातावरण नै उहाँको लागि माक्र्सवादी अध्ययन र कम्युनिस्ट पार्टीतर्फ लाग्ने प्रेरणाको स्रोत बन्न पुगेको उहाँको शुभचिन्तकहरुको भनाइ रहेको छ । सानै उमेरदेखि राजनीतिलाई जीवनको आफ्नो मुख्य कर्म बनाउनुभएका दवाडी वि.सं. २०४०÷४१ सालमा विद्यार्थी फेडेरेसन लमजुङको अध्यक्ष समेत हुनुभएको थियो । दवाडी २०५४ सालमा तत्कालीन विचौर गाउँ विकास समितिको अध्यक्षमा फराकिलो मत अन्तरले विजयी हुनु भएको थियो ।
वि.सं. २०६९ बाट हालसम्म एमालेको जिल्ला अध्यक्षको रुपमा नेतृत्व समाल्नु भएका दवाडीले स्थानीयतहको चुनवमा देशभर एमाले र माओवादीको बीचमा आरोपप्रत्यारोप चलिरहेको समयमा जिल्लामा वामगठबन्धनको राम्रो एवं सफल राजनीतिक संस्कारको विकास गरेर आफूलाई दूरदर्शी नेताको रुपमा सावित गर्नुभएको थियो ।
विचौरबाट अभियान थाल्नुभएका दवाडीको टिमले त्यसपछि इलमपोखरीको फुलंङगिरी, ठूलो काभ्रे, सानो काभ्रे, चापघडेरी र गौडाको विभिन्न गाउँमा चुनावी भेटघाट तथा छलफल गरेको छ भने अभियान दुधपोखरी गाउँपालिकाका विभिन्न गाउँ हुँदै दोर्दीतर्फ लाग्ने निर्वाचन परिचालन कमिटीका संयोजक राजकुमार विष्टले जानकारी दिनुभयो । टोलीले वामगठबन्धनका पक्षमा संयुक्त रुपमा मत मागेको छ ।
प्रखर वक्ता, निडर र सु–स्पष्ट विचारक, सादा जीवनशैलीका अनुयायी, लमजुङको समग्र विकासका चिन्तक, नेकपा (एमाले) लमजुङका अध्यक्ष धनञ्जय दवाडी सबै चुनौती र अप्ठ्याराहरुलाई सहजै पार लगाउन सक्ने भन्दै आममतादातासँगको भेटघाट र छलफलबाट उत्साहित बनेको निर्वाचन परिचालन कमिटीको संयोजक राजकुमार विष्टले जानकारी दिनुभएको छ ।













प्रतिक्रिया