२९ आश्विन २०८३, बिहिबार

दाताको एक करोड सहयोगमा विद्यालय भवन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फलेवास (पर्वत), २९ कात्तिक । पर्वतको एक दुर्गम गाउँमा सञ्चालित विद्यालयमा दाताको सहयोगमा झन्डै रु एक करोडको लागतमा दुई छुट्टाछुट्टै भवन निर्माण भएका छन् । जिल्लाको पाखापानी गाविसमा सञ्चालन भएको जनविकास उच्च माविमा दुईवटा भवन निर्माण भएका हुन् ।

दुवै भवनको निमित्त जिल्ला शिक्षा अधिकारी राजेन्द्रबहादुर क्षेत्रीले एक समारोहबीच उद्घाटन गर्नुभएको छ । उद्घाटनका क्रममा बोल्दै क्षेत्रीले वर्तमान शिक्षा पद्धतिमा परिवर्तनको खाँचो रहेको बताउनुभएको छ ।

कार्यक्रममा क्षेत्रीले पर्वत जिल्लाको पुरानो शिक्षा पद्धतिलाई परिमार्जन गर्दै व्यावहारिक शिक्षा पद्धति लागू गर्न आग्रहसमेत गर्नुभएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा विद्यायार्थीको सङ्ख्या घट्दै जानु दुःखद कुरा भएको उल्लेख गर्दै क्षेत्रीले निजी विद्यालयको शिक्षण पद्धतिलाई सिको गरेर अघि बढ्न सामुदायिक विद्यालयलाई समेत आग्रह गर्नुभयो ।

विद्यालयमा पाहार ट्रष्ट नेपालको सहयोगमा छ कोठे पक्की भवन निर्माण भएको छ भने जिल्ला शिक्षा कार्यालय पर्वतको सहयोगमा चार कोठे पक्की भवन निर्माण भएको छ । पाहार ट्रष्टले रु ४२ लाख सहयोग गरी अन्य स्थानीयस्तरबाट जनश्रमदान र चन्दा गरी रु ५० लाखको लागतमा छ कोठे भवन सम्पन्न भएको हो । त्यस्तै जिल्ला शिक्षा कार्यालय पर्वतको रु २४ लाख सहयोग र स्थानीय स्रोतबाट गरी रु ३६ लाख ३० हजारमा चार कोठे पक्की भवन निर्माण भएको हो ।

बिहीबार आयोजित उद्घाटन समारोहमा उच्च माध्यमिक शिक्षा परिषद् पोखराका प्रमुख रमेशप्रसाद अधिकारी, दातृ निकायका तर्फबाट बेलायती नागरिक लिज, पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङ, कोषाध्यक्ष तथा विद्यालयका पूर्व प्रधानाध्यापिका धनकुमारी गुरुङ्लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय शिक्षासेवीहरुलाई सम्मानित गरिएको थियो । विद्यालयको तर्फबाट भवन निर्माणका क्रममा सहयोग गरेका व्यक्तिहरुलाई समेत सम्मानित गरिएको थियो । कार्यक्रममा विभिन्न आमा समूह तथा महिला समूहहरुले स्थानीय संस्कृति तथा मौलिकता झल्किने गरी प्रस्तुतिहरुसमेत राखेका थिए ।