लण्डन, १३ कात्तिक । केन्द्रीय सरकारद्वारा हटाएको भनिएका क्यटलोनियाका क्षेत्रीय नेता चार्ल्स पुज्डमोनको पद कायमै रहेको त्यहाँका उप–नेताले बताएका छन् ।
उपनेता अरिअल जङ्करले ‘उहाँ कायमै हुनुहुन्छ र कायमै भइरहनुहुने छ’, भन्दै जिम्मेवारीबाट हटाएको निर्णयलाई अस्विकार गरे ।
क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेपछि आफू स्वतन्त्र भएको घोषणा गरेको थियो ।
‘यस क्षेत्रको नेता अहिले पनि चार्ल्स पुज्डमोन नै नै हुनुहुन्छ र उहाँ नै हुनुहुने छ,’ स्थानीय एक पत्रिकामा उनले लेखेका छन् ।
क्याटलोनियाको क्षेत्रीय सरकार र संसद्लाई भंग गरेर क्याटलोनिया क्षेत्रमा केन्द्रीय सरकारको प्रत्यक्ष शासन लागु गर्ने निर्णय भइसकेपछि उनले यस्तो लेखेका हुन् ।
लेखमा उनले अहिले पनि क्याटलोनियाको उपराष्ट्रपतिकै रुपमा हस्ताक्षर समेत गरेका छन् । क्याटलोनियामा प्रत्यक्ष शासन लागु गर्ने केन्द्रीय सरकारको निर्णयलाई केन्द्रीय संसद्ले अनुमोदन पनि गरेको छ ।
स्पेनले शनिबारदेखि लागु हुने गरी क्याटलोनियामा प्रत्यक्ष शासन शुरु गरेको छ । स्पेनले क्याटलोनियालाई दिएको स्वायत्त राज्यको अधिकार कटौति गर्दै उक्त राज्यका कार्यकारी तथा उच्च अधिकारीलाइसमेत बर्खास्त गरेको जनाएको छ ।
केन्द्र सरकारले उप–प्रधानमन्त्री सोराय साएन्ज डे सान्तमारियालाई क्याटलोनिया क्षेत्र हेर्नेगरी जिम्मेवारी तोकेको छ ।
सैबीच क्याटलोनिया स्वतन्त्र भएकोमा एक समूहले बार्सिलोना लगायतका क्याटलोनियाली शहरहरूमा खुशी मनाइरहेका समयमा आइतबार बार्सिलोनामा स्पेनसँगको एकताको पक्षमा दशौँ हजार क्याटोलोनियालीले प्रदर्शन गरेका छन् ।
‘भिभा स्पाना’ भन्ने नारा लगाउँदै आफूहरू स्पेनसँग छुट्टिन नचाहेको र केही विखण्डनकारी नेताले आफ्ना पिता पूर्खाले स्थापना गरेको स्पेनी भूभागलाई टुक्राउन लागेको उनीहरुले प्रतिक्रिया दिएका छन् । – एजेन्सी















प्रतिक्रिया