काठमाडौं, १० कात्तिक । “अबको आशा, विवेकशील साझा” नाराको साथमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य सहित निर्वाचनमा होमिएको विवेकशील साझा पार्टीले काठमाडौँको क्षेत्र नं ९ को चुनावी अभियान आजबाट सुरु गरेको छ। उक्त क्षेत्रबाट विवेकशील साझा पार्टीले मिलन पाण्डेलाई प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवार घोषणा गरेको थियो।
आज काठमाडौँको २१ वडाको ज्याबहालमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा उक्त टोलका टोलवासीहरु, विवेकशील साझा पार्टीका अन्य क्षेत्रका उम्मेदवार अनि केन्द्रिय नेताहरु रन्जु दर्शना, गोविन्द नारायण लगायतको उपस्थिति थियो।
कार्यक्रममा मिलन पाण्डेकी आमा अनि बुवाले काठमाडौँ क्षेत्र न ९ का उम्मेदवार मिलन पाण्डे, काठमाडौँ क्षेत्र न ८ का उम्मेदवार पुकार बम, काठमाडौँ क्षेत्र न ७ की उम्मेदवार अनुपा श्रेष्ठ लाई टिका अनि माला लगाइदिएर देश बनाउने आशिर्वाद दिनुभएको थियो भने टोलवासीहरुले ताली बजाएर साथ् दिनुभएको थियो। साथै, कार्यक्रममा पार्टीको घोषणा पत्र बाढिएको थियो भने, उक्त क्षेत्रको पर्चा समेत पहिलो पल्ट बाढेर चुनावी अभियानको सुरुवात गरिएको थियो।
कार्यक्रममा विवेकशील साझा पार्टीकी केन्द्रिय सदस्य रन्जु दर्शनाले, तपाई किन नउठेको भन्ने प्रश्नमा आफुले म उठेको छैन, यसपाली हामी उठेका छौं भनेर भन्ने गरेको बताउनुभयो। रन्जु दर्शनाले, “गत स्थानीय निर्वाचनमा हामी अलिकतिले चुक्यौं, यसपाली हामी चुक्ने छैनौँ। ” भन्दा उपस्थित सबैले ताली बजाएर समर्थन गर्नुभएको थियो।
कार्यक्रममा अर्का केन्द्रिय नेता गोविन्द नारायणले आम नेपालीहरुलाई बारम्बार झुक्याइएको र अब आम नागरिकहरु यसपटक नझुक्किनेमा आफु विश्वस्त रहेको कुरा बताउनुभयो।
कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै क्षेत्र न ९ का उम्मेदवार मिलन पाण्डेले आफ्नो उम्मेद्वारी अहिलेको पुस्ताको प्रतिनिधित्व रहेको र आम नागरिकको साथ पाउनेमा आफु विश्वस्त रहेको बताउनुभएको थियो। उहाँले आफु आफ्नो टोलवासीको समर्थनमा उठेको हुदाँ, यो निर्वाचनको उम्मेदवार आफुमात्रै नभएर काठमाडौँको क्षेत्र न ९ का परिवर्तन चाहने सबैजना रहेको र अब आम नागरिकले चाहेको परिवर्तन काठमाडौँको क्षेत्र न ९ ले दिने कुरा बताउनुभएको थियो।













प्रतिक्रिया