काठमाडौं, १० कात्तिक । पाकिस्तानले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा चीनलाई स्थायी सदस्य बनाउनुपर्ने प्रस्ताव दोहोर्याएको छ ।
शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित पाकिस्तानी राजदूतावासमा आयोजित ‘क्षेत्रीय शान्ति र विकास’ विषयक छलफल कार्यक्रममा चीनलाई स्थायी सदस्य बनाउनुपर्ने आफ्नो अडान दोहोर्याउँदै सहभागीहरुले यसमा नेपालले उल्लेखनीय भुमिका खेल्नुपर्नेमा जोड दिए ।पाकिस्तान पहिले देखिनै चीन सार्कको स्थायी सदस्य हुनुपर्ने पक्षमा छ । तर, भारतले असन्तुष्टि जनाउँदै चीनलाई स्थायी सदस्य हुन दिएको छैन ।
नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले जम्मू-काश्मिर मुद्दाको समाधानका लागि पनि चीन सार्कको स्थायी सदस्य हुनु जरुरी रहेको बताए । ‘अन्तर्राष्ट्रिय समुदाय र चीनको मध्यस्ततामा काश्मिरको समस्या सुल्झाउन सकिन्छ’ उनले भने– ‘आज दक्षिण एशिया गरिब हुनुमा काश्मिर मुद्दा नै प्रमुख हो । काश्मिर मुद्दाले यस क्षेत्रका देशमा ल्याएको आशंकाले क्षेत्रीय सहकार्य र विकास अघि बढ्न सकेको छैन् ।’
यस्तै, जावेदले नेपाल, भारत, भुटान र बंगलादेशको विमस्टेकमा पाकिस्तानको सहभागिता अपरिहार्य भएको बताए । ‘क्षेत्रीय विकासका लागि यो अपरिहार्य छ,’ उनले भने ।
‘सार्क शिखर सम्मेलन गर्न आतुर छौं’
कार्यक्रममा राजदूत जावेदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औँ शिखर सम्मेलन शीघ्र हुनु पर्नेमा जोड दिए । ‘स्थगन भएको सम्मेलन आयोजना गर्न पाकिस्तान दृढ छ, हामी आतुर छौं,’ उनले भने ।
सार्कलाई गतिशील तुल्याउनु सबै सदस्य मुलुकको कर्तव्य भएको भन्दै उनले क्षेत्रीय सहयोगका निम्ति सहकार्य अपरिहार्य भएको बताए ।
आर्थिक विकास एवं समृद्धि, व्यापार प्रवद्र्धन, सदस्य देशबीच जनस्तरको सम्पर्क विस्तार, जल, स्थल र हवाइ मार्गबाट एकापसमा सम्बन्ध एवं सम्पर्क स्थापनाबाटै दक्षिण एशियामा दिगो शान्ति र प्रगति सुनिश्चित हुने राजदूत जावेदको भनाई थियो ।
कालो दिनको सम्झना
पाकिस्तानले काश्मिरमा भारतीय सेना उपस्थित भएको दिनलाई ‘कालो दिन’को रुपमा मान्ने गरेको छ । तथ्यांकअनुसार अहिले काश्मिरमा ७ लाख भारतीय सेना परिचालित छन् । आजकै दिन अक्टुबर २७, १९४७ मा भारतीय सेनाले काश्मिर कब्जा गरेको थियो । त्यसयता त्यहाँका जनताको स्वाभिमान र स्वतन्त्र कुल्चिइँदै आएको छ ।
आज आयोजित कार्यक्रममा पाकिस्तानी राजदूत जावेदले जम्मू काश्मिरी जनताले स्वाभिमानको अधिकार पाउनुपर्ने र एक दिन पाएरै छाड्ने बताए । ‘पाकिस्तान स्वतन्त्रताका पक्षमा रहेका काश्मििरी जनतालाई राजनीतिक, कुटनीतिक र अन्य सबै सहयोग गर्न तयार छ,’ उनले भने ।
राजदूत जावेदले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान हुनुपर्ने बताउँदै काश्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको स्पष्ट पारे ।
जापानका लागि नेपाली पूर्व राजदूत विष्णुहरि नेपालले द्विपक्षीय विषयलाई लिएर सार्क प्रक्रियामा अवरोध हुन नहुनेमा जोड दिँदै सार्कको अध्यक्ष नेपालले १९औँ शिखर सम्मेलन आयोजनाका निम्ति आवश्यक प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए ।
















प्रतिक्रिया