गौर, १० कात्तिक । चन्द्रपुर– ५ स्थित चाँदी नदीको घाटमा स्थानीयले लामो टेन्ट टाँगेका छन् । तर, टेन्टभित्र दलित र गैरदलितले छुट्टाछुट्टै पूजास्थल बनाएका छन् ।
तराई–मधेसका नदी किनार तथा पोखरी, तलाउहरूमा धुमधामका साथ छठ पर्व मनाइँदै छ । छठ मान्न भक्तालुको भीड लागे पनि पूजाका लागि भने जातअनुसारको स्थान छुट्ट्याइएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
रौतहटका अधिकांश स्थानमा छुवाछूतका कारण छठघाटहरूमा पूजा एकै ठाउँमा भएका छैनन् ।
चाँदी किनारको राजपैडामा बस्दै आएका चमार, मुसहर समुदायले छुट्टाछुट्टै स्थानमा छठपूजा गरेका छन् । राजपैडाको छठघाटमा दुई घर चमार र २४ घर मुसहरले छुट्टै पूजा गरे ।
वर्षौंदेखि एउटै टोलमा बस्दै आए पनि छठ यसरी नै मनाउँदै आएको स्थानीय माझी मुसहरले बताए । छुवाछूतको भावना अझै रहेकाले छुट्टाछुट्टै पूजा हुने गरेको नेपाल राष्ट्रिय मुसहर उत्थान समाजका केन्द्रीय उपाध्यक्ष नथुनी माझी मुसहरको भनाइ छ ।
यद्यपि, केही घाटमा भने सँगै पूजा हुन थालेको उपाध्यक्ष मुसहरले जानकारी दिए ।
‘पूजास्थलमा सबै जान्छन् तर पूजा सामग्री राखेको छैटी छुँदैनन्, सँगै पूजा गर्दैनन्’, राजपैडाका विनोद ठाकुरले भने । पासवान, चमार, डोम, मुसहर जातिमै पनि एकअर्काको पूजा सामग्री छुँदैनन् ।
उनीहरूले छुट्टाछुट्टै पूजा गर्ने गरेका छन् । अझै छुवाछूतको भावना रहेकाले पूजा पनि अलग(अलग ठाउँमा हुँदै आएको नेपाल राष्ट्रिय दलित कल्याण समाज रौतहटका अध्यक्ष सुखाडी बैठाले बताए ।












प्रतिक्रिया