११ मंसिर २०८३, शुक्रबार

यस्ता छन् काठमाडौँमा काँग्रेसका उम्मेदवारहरु: गगन गले, नरहरि आउट, डा. महतको ‘इन्ट्री’

67.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ कात्तिक । प्रतिनिधिसभाको आगामी निर्वाचनमा काठमाडौँबाट काँग्रेसका अधिकांश पुरानै अनुहारले टिकट पाउने भएका छन् ।

कतिपय नेता ‘रिङआउट’ भएका छन् भने कतिपय चर्चित नेताले काठमाडौँबाट टिकट पाउने भएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं १ बाट काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह नै दोहोरिँदै छन् । तुलनात्मक रुपमा उनी बलिया उम्मेदवार हुन् ।

यसैगरी, काठमाडौँ २ बाट दीपक कुँइकेल नै दोहोरिने सम्भावना छ । उनले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग चुनाव लड्नुपर्ने भएको छ । यसअघि एमालेले जितेको यो क्षेत्रमा उपनिर्वाचनमा भने एमाले पराजित भएको थियो । त्यसैले यस क्षेत्रको प्रतिस्पर्धा रोमाञ्चक हुने देखिएको छ ।

काठमाडौं ३ बाट काँग्रेस नेतृ अम्बिका बस्नेतले टिकट पाउने भएकी छिन् । उनीसँग एमाले काठमाडौँका अध्यक्ष कृष्णकुमार राई भिड्दैछिन् ।

काठमाडौँ ४ बाट गगन थापा लड्ने भएका छन् । मुख्यमन्त्री माग गर्दै पार्टीभित्र दबाब सिर्जना गरेका गगन अन्ततः गलेका हुन् । मुख्यमन्त्रीको उम्मेदवार सुनिश्चित हुने गरी प्रदेश सभामा लड्न लागेका गगन प्रतिनिधिसभामै लड्ने भएका छन् । गगनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन देउवा समूह खासै उत्सुक देखिएन् ।

गगनसँग एमालेका चर्चित युवा नेता डा. राजन भट्टराई भिड्दैछन् । भट्टराई यसअघि समानुपातिक सांसद थिए । केपी ओलीका प्रिय मानिएका डा. भट्टराई विदेश मामिला विज्ञ हुन् । उनी काठमाडौं चाबहिलका रैथाने हुन् ।

काठमाडौँ ५ मा लगातार जितेका नरहरि आचार्य यसपटक उम्मेदवारको सिफारिसमै परेनन् । उनको ठाउँमा काँग्रेसले नुवाकोटका डा. प्रकाशशरण महतलाई ल्याउने भएको छ । क्षेत्रीय सभापति रमेश खड्काले दाबेदारी गरे पनि पार्टीले डा. महतलाई ल्याएको हो । डा. महतले एमालेका महासचिव ईश्वर पोखरेलसँग भिड्नुपर्ने भएको छ । नयाँ भुगोल र कार्यकर्तामा असन्तुष्टि रहेकाले डा. महतलाई अप्ठेरो पर्ने बताइएको छ ।

काठमाडौँ ६ मा काँग्रेसका भिमसेनदास प्रधान दोहोरिने सम्भावना छ । यस क्षेत्रमा बाम गठबन्धनका तर्फबाट माओवादीका हितमान शाक्य लड्ने सम्भावना छ । प्रधान र शाक्यको टक्कर हुने सम्भावना छ ।

यसैगरी, काठमाडौँ ७ मा काँग्रेसले राप्रपालाई छाड्ने बताइएको छ । राप्रपाबाट विक्रम खड्का लड्ने सम्भावना छ । एमालेले पुरानै सांसद रामवीर मानन्धरलाई लडाउने भएको छ । मानन्धर स्थानीय तहमा चर्चित छन् ।

काठमाडौँ ८ मा काँग्रेसले नवीन्द्रराज जोशीलाई उठाउने भएको छ । जोशीलाई एमालेका कृष्णगोपाल श्रेष्ठले टिक्कर दिँदैछन् । श्रेष्ठलाई काठमाडौँ ९ बाट उठाएर यो क्षेत्र माओवादीलाई दिने एमालेको तयारी छ । काठमाडौं ९ बाट काँग्रेसले ध्यानगोविन्द रञ्जितलाई उठाउने पक्कापक्की छ ।

यसैगरी, काठमाडौँ १० बाट राजेन्द्रमान केसी (राजन) ले नै टिकट पाउने भएका छन् । उनी यसअघि माओवादी अध्यक्ष प्रचण्डलाई हराएर चर्चामा आाएका थिए । काठमाडौँ १० एमालेले लिने कि माओवादीले भन्ने टुंगो लाग्न बाँकी रहेकाले वाम गठबन्धनको उम्मेदवार टुंगिन बाँकी छ ।

काँग्रेसले आगामी शनिबारसम्म सबै उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । एमाले र माओवादीको पनि कार्यदलको बैठक चलिरहेको छ ।